सिन्धुली । नेकपा एमाले सिन्धुलीले पार्टी सदस्यहरु, जनसंठनहरु र मातहतका पार्टी कमिटीहरुलाई बाढी पहिरो पीडितहरुको उचित व्यवस्थापन र पुनस्र्थापना नहुदाँसम्म राहत, उद्धारमा स्वयमसेवकका रुपमा खटिन अनुरोध गरेको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बुधबार प्रेस विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेका हुन । उनले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु विपद क्षेत्रमा अहोरात्र उद्धार कार्यमा खटिईरहेको समेत विज्ञप्ती मार्फत जनाएका छन ।
एमालेले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । एमालेले उद्धार राहत र व्यवस्थापनमा खटिएका उद्धार, राहत र व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधिहरु, स्थानीय व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ताहरु, कर्मचारीहरु, सरकारी तथा गैह्रसरकारी निकायहरु, सूचना प्रवाह गरेर जनतालाई सचेत र सुसुचित बनाउने सञ्चार क्षेत्र लगाएत सबैलाई नेकपा एमाले सिन्धुलीले धन्यवाद समेत दिएको छ ।
अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा बाढी पहिरो पीडितहरुलाई वितरण गरिने राहत व्यवस्थित र एकद्धार प्रणालीबाट गर्न समेत सम्बन्धित पक्षलाई अनुरोध समेत गरेको छ ।
एमालेले बाढी पहिरोमा परि ज्यान गुमाएका प्रति श्रदाञ्जली तथा घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै वेपत्ताहरुको खोजीका लागि सरकारका सबै संयन्त्रको सक्रियताको लागि अनुरोध समेत गरेको छ ।
विज्ञप्तीमा काठमान्डौ हुदै पूर्वी नेपालका जिल्लाहरु जोड्ने विपी राजमार्ग र मध्यपहाडी राजमार्ग दीर्घकालिन रुपमा सञ्चालनमा ल्याउन पहल गर्न प्रदेश तथा केन्द्रीय सरकारको ध्यानाकर्षण गराईएको छ ।





















