सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १ को खारखोलामा मदनभण्डारी राजमार्गमा जोडिएको देवकोटा परिवारको काठको घर छ । जुन घरमा ओम प्रसाद देवकोटा र उनी श्रीमति मन्दिरा उनीहरुका तीन भाई छोराहरु र दुई छोरी बस्छन ।
देवकोटाका पाँच सन्तान मध्ये तीन भाई छोराहरु शारीरिक रुपले पूर्ण अपांग छन । तीनै जनालाई नियमित रुपमा हेरचाह गर्नु देवकोटा परिवारको दैनिकी हो । जेठा छोरा कृष्णराज २४ वर्षका भए । माइला छोरा लिला २२ वर्षका । दुई भाई छोरा मुनी जन्मेका दुई छोरीहरु जुना र मुनाको शारीरिक मानसिक लगाएत सबै स्वास्थ्य अवस्था ठीक छ । दुई दाजुभाई र दुई दिदीबहिनी मुनी जन्मेका कान्छा छोरा यादव १६ वर्षका छन । उनी पनि अपांग नै जन्मिए । तीनभाई छोरा तीनै जना जन्मेर हिड्न सक्ने अवस्थाका भएनन । २४ वर्षदेखि त्यो परिवारले अपांग छोराहरुको स्याहारमा दैनिकी गुजारेको छ ।
सबै अपांगता भएका छोराहरुको समस्या कम्मरदेखि तलको भागले काम नगर्नु हो । खुट्टा सुकेका, बाँगा भएका, लुला भएका छन । जेठो छोरा कृष्ण बोल्न सक्छन । माइला लिलाको खुट्टा मात्र हैन टाउको उठाउन पनि समस्या छ । बोली प्रस्ट छैन । सुन्न सक्छन, कुरा बुझ्छन । खाना अरुले नै खुवाउनुपर्छ ।
जेठ भन्दा बढी माइलो र माईलो भन्दा बढी कान्छो छोराको शारीरिक अवस्था कमजोर छ । कान्छो छोराको शरीर कतै पनि सिधा हुदैन । बोली आउँदैन । दिशापिसाब गराउन, खुवाउन, सरसफाई सबै गर्न अरुको भर पर्नुपर्ने बाध्यता छ ।
देवकोटा परिवारका तीनै जना छोरा उठेर हिड्न सक्दैनन । घस्रेर दुई भाई घर आँगन गरे पनि भरपर्दो हुदैन । घरमा कम्तिमा एक जनाले उनीहरुलाई छोड्न मिल्दैन ।
देवकोटा परिवार कृषिमा निर्भर परिवार हो । खानका लागि खेति गर्नुपर्छ । अपांग भएका छोराहरुलाई खुवाउनकै लागि घरमा दुध दिने वस्तु टुटाउन मिल्दैन । छोराहरु निको बनाउन धेरै अस्पताल धाएका छन देवकोटा परिवारले । तर निको हुदैन भनेर डाक्टरहरुले फिर्ता गराए । उनीहरुको हकमा विज्ञानले फेल खायो । भारतसम्म उपचारका लागि पु¥याएको बुवा ओमप्रसादले बताए ।
मेरुदण्डको समस्या र जन्मजात समस्या भएको डाक्टरहरुको भनाई रहेको ओम प्रसादले बताए । उपचार सम्भव नभएपछि उनीहरु छोराहरुको सक्दो स्याहारमा जुटेका छन । बाँचुञ्जेल र सकुन्जेल छोराहरुको स्याहार आफ्नै परिवारले गर्ने बुवा ओम प्रसादले बताए । स्याहार र माय दिन बाबुआमा र दुई दिदीबहिनी कसैले कमी गरेका छैनन ।
छोरीहरुले उच्च शिक्षा अध्ययन गरिररहेका छन । जुनाले कृषि जेटिएसँगै विएड अध्ययन गर्दैछिन । कान्छी छोरी मुनाले कक्षा १२ पास गरेकी छिन । छोरीहरुले रोजगारी पाएमा घर चलाउन सहायता हुने ओम प्रसादको भनाई छ ।
अपांगता भएका एकै परिवारका तीन भाईलाई हिड्डुल गर्न सहज होस भनेर कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटा सहितको टोली विहिबार ह्विल चियर र कम्वोर्ड चियर सहित देवकोटाको घरमै पुग्यो ।
टोलीमा कमलामाई नगरपालिकामा महिला बालबालिका शाखाका प्रमुख इन्दिरा थापा, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सविता कोईराला, अपांग महिला संघका पदाधिकारीहरु रहेका थिए ।
कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा सिन्धुली अपांग महिला संघ सिन्धुलीको समन्वयमा टोली घरमै पुगेर सहायता सामग्री हस्तान्तरण गरेको हो । ह्विल चियरमा बसालेपछि देवकोटा परिवारका कान्छो छोरा यादव निक्कै खुशी भए । मज्जाले मुस्कान दिए । खुशी भएको भाव व्यक्त गरे । जेठो छोरा कृष्णले मरिण वगर घुम्न जाने सक्ने बताए । उनले भने, ‘अब म मरिण बगरमा घुम्न जान सक्छु ।’
उनीहरुलाई बस्न, हिँडडुल गर्न, शौच गर्न समस्या भएको देखेपछि सानो सहयोग गरेको कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले बताईन । जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले अपांग व्यक्तिहरुको स्याहारमा खटिने परिवारका सदस्यलाई सहयोगको खाँचो रहेको बताईन ।
तीन वर्ष अघि कमलामाई नगरपालिकाले घरमै पुगेर कान्छो छोरा यादवको अपांगता परिचयपत्र समेत बनाईदिएको थियो । अन्य दुईभाईको पहिले नै परिचयपत्र बनिसकेको थियो ।






















