सिन्धुली । हरिहरपुरगढीमा प्रहरीले हवाई फायर गरेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चार बोरा गाँजा बरामद गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी निरीक्षक केशव कटवालका उक्त घटनामा संलग्न चार जना फरार रहेको कटवालले बताए । फरार रहेका चार जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
‘गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजा र गाँजा कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । पाँच जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको ४ बोरा अर्थात ७७ केजी ८० ग्राम गाँजा बरामद गरिएको प्रहरी निरिक्षक कटवालले बताए ।





















