सिन्धुली । जिल्लामा लोक स्टार सिजन १ प्रतियोगिता गरिने भएको छ । जिल्लाका नौवटा स्थानीय तह र जिल्ला स्तरको गरि दुई चरणमा उक्त प्रतियोगिता गरिने भएको हो ।
लोक गायन र लोक नृत्य गरि दुई विधामा लोकस्टार प्रतियोगिता गरिने भएको छ । वारिएर डान्स सेन्टर सिन्धुलीले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ । जसको समन्वय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति सिन्धुलीले गर्ने वारियर डान्स सेन्टरका संयोजक सन्तोष नेपालीले बताएका छन ।
प्रतियोगिता दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा सिन्धुलीको ९ वटै पालिकामा नृत्य तथा गायन प्रतियोगिता गरिने छ । उक्त प्रतियोगितामा छनौट भएका प्रतियोगिलाई दोस्रो चरणमा जिल्ला स्तरमा प्रतिस्पर्धा गराईने छ ।
नृत्य र गायन विधामा जिल्ला प्रथम हुनेलाई ५० ÷५० हजार रुपैंया पुरस्कार तोकिएको छ । प्रतियोगितामा सामुदायिक तथा निजी विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई सहभागि गराईने छ ।
पुस २५ गते घ्याङ्लेख गाउँपालिबाट स्थानीय तह स्तरको छनौट प्रतियोगिता सुरु गरिने छ र ती स्थानीय तहबाट छनौट भएका पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय तथा विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । पालिका स्तरमा प्रथम भएका सहभागिलाई जिल्ला स्तरमा प्रतिस्पर्धा गराईने छ ।
जिल्ला स्तरको फाइनल प्रतियोगिता माघ २७ गते (सोनाम ल्होसार) को दिन गरिने पनि नेपालीले बताएका छन । फाईनलमा स्थानीय तहबाट छनौट भएका ९ उत्कृष्ट नृत्य र ९ उत्कृष्ट गायन प्रतियोगीहरू बीच प्रतिस्पर्धा गराइने र प्रतियोगिताबाट एक जना नृत्य र एक जना गायनलाई सिन्धुली लोक स्टार सिजन १ को उपाधि प्रदान गरिने छ । अन्य सहभागिलाई उपविजेताका रुपमा पुरस्कृत गरिने जनाइएको छ । दुवै प्रतियोगिताहरु विशुद्ध लोक संस्कृतिसँग सम्बन्धित भएर गरिने आयोजकले जनाएको छ ।