सिन्धुली । इजरायल र प्यालेस्टाईनको युद्ध अमानवीय बन्दै गएको छ । उक्त युद्धमा परि अनाहकमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन । त्यहाँ कामका लागि र अध्ययनका लागि गएका नेपालीहरुको अवस्था दयनिय बन्दै गएको छ । केहि नेपाली घाइते र वेपत्ता भएका खबरहरु आईरहेका छन । केहि बंकरभित्र सुरक्षाको याचना गरिरहेका छन ।
कृषि विश्वविद्यालयबाट गएका विद्यार्थी तथा जिटुजीबाट गएका कामदार नेपालीहरू कोही बङ्करभित्र भोक भोकै छन् भने कोही उद्धारको याचना गरिरहेका छन् ।
युद्ध लम्बिँदै जाँदा अनकण्टार त्यो ठाउँमा उनीहरूको अवस्था कस्तो होला ? कल्पना गर्दा पनि कहाली लाग्दो छ । त्यहि कलाली लाग्दो अवस्थाको भोगाई भोगिरहेका कास्कीका विद्यार्थी सुरज भण्डारीले आज इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हस्त लिखित पत्र पठाएका छन् ।
आफ्नो अभिभावक सरकारबाट के हुन्छ भनेर पर्खेर बसेका ३ हजारभन्दा बढी नेपालीको प्रतिनिधित्व गर्दै उनले पठाएको पत्र आफैँमा दर्दनाक छ ।
उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको भन्दै देश फर्काइदिन आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिका–२ कास्कीका भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल गएको एक वर्ष पनि पुगेको छैन ।
उनको हस्तलिखित पत्र जस्ताको जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।






















