सिन्धुली । आइतबार काठमान्डौबाट पोखराका लागि उडेको नाईनएनएएनसि एटीआर–७२ ५०० यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । दुर्घटनामा परि मृत्यु भएका ६९ जनाको मृत्यु भईसकेको पुष्टि भएको छ भने तीन जनाको उद्धार भईरहेको यति एयरलाईन्सले जनाएको छ ।
पोखराको सेतिको खोंचमा जहाज दुर्घटना भई जलिरहेको अवस्थामा भेटिएको थियो । आइतबार बिहान १०ः३३ मा काठमान्डौबाट पोखराको अन्तराष्ट्रिय विमान स्थलका लागि पहिलो उडान भरेको उक्त जहाज ११ः १० मा दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
जहाजले विमानस्थलमा अवतरणका लागि अनुमति लिईसकेको थियो । विमानस्थलमा अवतरण गराउने क्रममा उक्त जहाज सेति खोंचको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।
विमानमा चालक दलका ४ जना सहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक÷एकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका एअरलाइन्सले जानकारी गराएको छ ।
शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ११ जनाको शवको पहिचान भएको छ । सोमबार शव आफन्तजनलाई बुझाइने भएको छ ।
जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने अन्तर्राष्ट्रिय विमान स्थल पुगि विस्तृत विवरण लिएका छन भने उद्धार र राहतलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन ।
जहाज दुर्घटनापछि मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको छ । बैठकले आन्तरिक उडान भर्ने सवै जहाजको प्राविधिक परिक्षण गर्न निर्देशन गरेको छ । साथै सोमबार देशभर शोकमा सार्वजनिक विदा समेत दिएको छ । जहाज दुर्घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।





















