सिन्धुली । काठमान्डौबाट पोखराका लागि उडेको एएनसी एटीआर ७२ यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । सेतिको खोंचमा जहाज दुर्घटना भई जलिरहेको अवस्थामा भेटिएको छ ।
आइतबार बिहान १०ः३३ मा काठमान्डौबाट पोखराको अन्तराष्ट्रिय विमान स्थलका लागि पहिलो उडान भरेको उक्त जहाज ११ः १० मा दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
जहाजले अवतरणका लागि अनुमति लिईसकेको थियो । विमानस्थलको प्राविधिक त्रुटिका कारण जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको प्राधिकरणले जनाएको छ । जसमा १० जना विदेशी नागरिक रहेका थिए ।
जहाज दुर्घटनामा परे लगत्तै उद्धारको काम भईरहेको छ । तिन वटै सुरक्षा निकाय, स्थानीय लगाएतले उद्धारको काम गरिरहेका छन ।
हालसम्म ३६ जनाको शव निकालिसकिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिए ।
शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको पनि उनले जानकारी दिए । खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो ।




















