सिन्धुली । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कमलामाई नगरपालिका १ मरिण क्षेत्रका बजारहरुको अनुगमन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रविण श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका नहकुल ढकाल, घरेलु तथा साना उद्योग कार्यालयका कुमार ढकाल सुरक्षा निकायका प्रतिनिधी तथा पत्रकारहरु सहितको टोलिले बजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा धेरै जसो पसलहरुमा मुल्य सूचि टाँस नभएको, म्याद गुज्रेका सामाग्रीहरु एकै स्थानमा राखिएको , होटलहरुमा भान्सा र शौचालय सँगसँगै रहेको जस्ता समस्याहरु पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
अनुगमनका क्रममा दुई वटा पसलबाट म्याद गुज्रेको सोयाविन मस्यौरा, सस,आलु चिप्स लगायतको गरी ३ हजार ८ सय ६५ रुपैया बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरेको श्रेष्ठले बताए । अनुगमनका क्रममा चामलका बोराहरुमा उत्पादन मिति र उपभोग्य मिति नपाइएकाले त्यस्तो चामल तत्काल कम्पनिलाई फिर्ता गरी जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा जानकारी पठाउन निर्देशन दिएको श्रेष्ठले बताए ।





















