सिन्धुली । जिल्लाका कृषकहरु धान भित्रयाउन व्यस्त बनेका छन भने नेताहरु भने भोट माग्न व्यक्त छन । किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पुर्याउने चलन छ ।
युवा विदेश पलायनले धान खेती भित्र्याउन १८ वर्ष मुनीका किशोरकिशोरी र ४० वर्ष भन्दामाथिका बुढाबुढीहरु खेतबारीमा व्यस्त देखिन्छन् । गत साल धान खेतमै उम्रिने कुहिने समस्या भएकाले त्यस्तै नहोस् भनेर यसपालि हरियोमै धान काट्नु पर्ने किसानहरु बताउछन् ।
कमलामाई नगरपालिका १ डाढीका कणर् बहादुर तामाङले राम्रोसँग धान पाक्न नपाउँदै काट्न सुरु गरे । धान झार्ने थ्रेसर (धान झार्ने मेसिन) मिलेसम्म काट्ने बित्तिकै दाना निकालेर भित्रयाउने योजनामा रहेकोे उनले बताए । अहिले सिन्धुली मरिण मात्रै नभएर अधिकांश स्थानमा किसानलाई धान भित्रयाउन भ्याइनभ्याई छ । तीनपाटन -२ भिमस्थानका विष्णु खड्का पनि गतसाल धान भिज्यो, धानमा ठूलो नोक्सानी बेहोर्नुपर्यो, अहिले समयमै भित्रयाउँ भनेर हतारो गरेको बताए ।
कृषि ज्ञान केन्द्रले भने कृषकहरुलाई धान काँचोमा काट्न हतारो नगर्न सुझाव समेत दिएको छ । कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख सुजन अँगाईले सिन्धुलीमा धेरै प्रकारको धान लगाउने भएकाले पछि पाक्नेखालको धान बाहेक अन्य धान पाकिसकेको बताए । उनले काँचोमा धान काट्न हतारो गर्नु त हुँदैन, वर्षा ढिलोगरी भएकाले धानको बाला पाकेको डाँठ हरियो देखिएको हुनसक्ने बताए ।
६० प्रतिशत मात्रै धान काटियो
जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै धान काट्ने काम सकिएको जिल्ला कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन अँगाईले बताए । अहिले सिन्धुलीको दुधौली, हरिहरपुरगढी, मरिण, कमलामाईमा धान कटानी कार्यअन्य पालिका भन्दा धेरै रहेको छ ।
छिटो रोपाई गरेको र छिटो पाक्ने धान लगाएकोमा धान काट्ने काम भईरहेको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ । सिन्धुलीमा यस बर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ । सिन्धुली जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये १५ हजार ९ सय हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले १५ हजार ४ सय २३ हेक्टरमा धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख अंगाईले बताए ।























