सिन्धुली । सिन्धुलीमा मनोनयन दर्तामा नेकपा एमालेले जिल्लाका २ प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको मनोनयन एकै पटक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालयबाट बाजागाजा र प्रत्यक्ष तर्फका ६ जना उमेदवारहरुसहित मनोनयन स्थलमा पुगी एमालेले मनोनयन दर्ता गरेको हो ।
यता गठबन्धनमा टिकटको निर्णयमा भएको ढिलाईका कारण एकैपटक गरिने भनेको उमेदवारी दर्ता भने छुट्टा छुट्टै भएको छ । नेपाली कांग्रेसले टिकट दिन ढिलाई गरेका कारण एकै पटक दुवै संघ र ४ वटै प्रदेशमा उमेदवारी दर्ता सँगै हुन नसकेको हो ।
नेकपा एमालेका तर्फबाट क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य तर्फ प्रदीप कुमार कटुवाल क्षत्री, प्रदेश १ (क) मा सुवास देवकोटा, प्रदेश १ (ख) मा कुमार बहादुर कार्की (रामकुमार)ले मनोनयन दर्ता गरेका छन । यस्तै क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य तर्फ मनोजजंग थापा, प्रदेश २ (क) मा विनोद कुमार खड्का र प्रदेश २ (ख) मा रामकुमार पौडेलले मनोनयन दर्ता गरेका हुन ।
यसैगरि गठबन्धनका तर्फबाट नेकपा माओवादीका राजन दाहालले क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ उमेदवारी दर्ता गराएका छन भने प्रदेश २ (ख) मा नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर जसपाका गंगानारायण श्रेष्ठले उमेदवारी दर्ता गराएका छन । प्रदेश २ (क) मा नेपाली कांग्रेसका क्षेत्र बहादुर बम्जनले निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उमेदवारी दर्ता गराउने भएका छन ।
यस्तै प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा श्याम प्रसाद घिमिरेले उमेदवारी दिने भएका छन । तर उनी उमेदवारी दर्ता गराउन ४ बजेसम्म आईपुगेका छैनन भने क्षेत्र नं. १ (क) मा वसन्त भट्टराईले नेकपा माओवादी केन्द्रका तर्फबाट उमेदवारी दिएका छन । यस्तै प्रदेश १ (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडीले टिकट लिएका छन । उनले पनि काठमान्डौबाटै उमेदवारी दर्ता गराउने भएका छन ।





















