सिन्धुली । जर्वुट्टा कलाकार विश्वम्भर लामिछाने संविधान दिवस २०७९ को अवसरमा विभुषित भएका छन । रुखका जराबाट कला निर्माण गर्दै आएका लामिछानेलाई नेपाल सरकारले विभुषण दिएको हो ।
लामिछाने सहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका ७३६ जनालाई मानपदवी, १७६ जनालाई अलंकार र ८१ जनालाई सरकारले पदक दिएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले उक्त सम्मान प्रदान गर्नुभएको हो ।
सरकारले दिने मानपदवी १० प्रकारका रहेका छन । त्यहि मध्येको मानपदवी हो जनसेवा श्री । जनसेवाश्री पदक लामिछाने सहित २ सय सात जनाले प्राप्त गरेका छन । यस्तै अलंकार अन्तर्गत ९ विधा र पदक अन्तर्गत ८ विधामा सरकारले विभुषण सिफारिस गर्दै आएको छ ।
कलाकार लामिछानेले ढलेका रुखका जराहरु खोजेर कला निर्माण गरि संग्रहालय निर्माण गरेका थिए । उनले हालसम्म ४ सय कला निर्माण गरेका छन । कला मार्फत समाज रुपान्तरण, शिक्षा र पर्यटनमा समेत उनले योगदान पु¥याएका छन साथै कला संग्रहालय निर्माणका लागि जग्गा दान समेत गरेका छन । उनले कला संग्रहालय स्थापनाका लागि १ कठ्ठा जमिन निःशुल्क प्रदान गरेका छन । बाग्मति प्रदेश सरकारले भवन निर्माण गरि कलाको व्यवस्थापन गर्न थालेको छ ।
कला संग्रहालय जिल्लाको अध्ययन तथा पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । जहाँ विदेशी र स्वदेशी व्यक्तिहरु अध्ययनका लागि आउने गर्छन । यस्तै कमलामाई नगरपालिकाले स्थानीय पाठ्यक्रममा समेत यो कला संग्रहालयलाई समेटेको छ ।




















