नगर कार्यपालिका र नगरसभामा एमालेको एकल बहुमत
सिन्धुली । कमलामाई नगरपालिकाको नगर कार्यपालिकाको मंगलबार भएको निर्वाचनबाट नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धनलाई हराउँदै कार्यपालिकाको ८ जना सदस्य नै एमालेका उमेदवार विजयी भएका हुन ।
खुल्ला महिला तर्फ धनकुमारी श्रेष्ठ, जमुना कुमारी श्रेष्ठ, शिवकुमारी रायमाझी, उमा विश्वकर्मा र देवी देवकोटा विजयी भएका छन भने दलित तथा अल्पसंख्यक तर्फ भद्रीमाया हायु, राजन भुजेल, मान बहादुर दमै विजयी भएका छन ।
२४ सदस्यीय नगर कार्यपालिकामा अब उपमेयर सहित १६ जना सदस्य नेकपा एमालेका छन । स्थानीय तह निर्वाचनमा उपमेयर सहित एमालेका ४३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (एस) र नेकपा माओवादी केन्द्रको गठबन्धनका कारण मेयरमा एमालेले पराजय भोगेको थियो ।
सात वटा वडामा प्यानल र केहि वडामा सदस्य जितेको एमालेले नगरसभा र कार्यपालिकामा एकल बहुमत पु¥याएको छ । कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसका उपेन्द्र पोखरेल विजयी भएका छन ।





















