सिन्धुली । नेकपा एमाले कमलामाई नगरपालिकाको प्रथम अधिवेशन विवादका बाबजुद सकिएको छ । कार्तिक ९ गतेदेखि सुरु भएको अधिवेशन सर्वसम्मत नेतृत्व चयनका नाममा जवर्जस्त नाम घोषणा गरि सम्पन्न गरिएको छ ।

विवादका बीच नगर कमिटीका ७० सदस्य घोषणा गरेको नेकपा एमाले केन्द्रीय सदस्य उमा कोईरालाको संयोजकत्वमा रहेको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया रोकेर उमेदवारी दर्ता गरेका व्यक्ति बाहिरबाट नेतृत्व चयन गरेको हो ।
युवा विद्यार्थी र महिलाको घेराबन्दीका बीच महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा कार्यसमितिको घोषणा गरिएको छ । जसको उपाध्यक्षमा देवराज पौडेल, सचिवमा कृष्णहरी घिमिरे, उपसचिवमा सिता सत्याल र सुन्दर घिसिङको नाम घोषणा गरिएको छ ।
अध्यक्ष मण्डलले घोषणा गरेको समितिमा महिलाको ३३ प्रतिशत संख्या समेत पुगेको छैन । ३३ प्रतिशत माग पुरा गर्ने भन्दै निर्वाचित नगर कमिटिको १० प्रतिशत सदस्य मनोनित गर्न सक्ने अधिकार समेत अध्यक्ष मण्डलले प्रयोग गरि ९ जना महिला सदस्य थपेको छ तथापी ८५ सदस्यीय कमिटीमा अझै ३ जना महिला अपुग भएका छन । पदाधिकारीमा पनि ३३ प्रतिशत महिला पु¥याईएको छैन ।

पाँच जना पदाधिकारीमा सचिव सहित २ जना महिला हुनुपर्ने, कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने महिलाको माग रहेको थियो । अधिवेशन समयमा नटुंगिएपछि महिलाले समयमा सर्वसम्मत नेतृत्व चयन गर्न र महिलालाई विधान अनुसार स्थान दिन माग गरेका थिए । महिलाहरुले सचिवमा रमा कार्की, उपसचिवमा सुमित्रा मगर र सिता सत्यालको उमेदवारी दिएका थिए ।
नगर अधिवेशनको नाम घोषणासँगै युवा, महिला र विद्यार्थीले पार्टी कार्यालयमा नेतृत्वलाई घेराउ गरेका थिए । जसका कारण पार्टी अध्यक्ष प्रदीप कटुवाल र अध्यक्ष मण्डलका अध्यक्ष उमा कोइरालाले सपथ ग्रहण कार्यक्रम समेत गराउन सकेनन । सर्वसम्मत छानिएका पदाधिकारी तथा सदस्यहरुले लिखित सपथमा लुकाई लुकाई हस्ताक्षर गरे पनि धेरै निर्वाचित सदस्यहरु सपथ ग्रहणमा सहभागि हुन सकेका छैनन ।
नगर अधिवेशन सम्पन्न भएको पार्टी कार्यालयको बार्दलीबाट अध्यक्ष कटुवालले घोषणा गरे पनि कार्यकर्तामा विरोधका स्वरहरु थिए भने कुनै उत्साह थिएन । कसैले कसैलाई बधाई दिन लिन र अविरमाला गर्न समेत सकेका थिएनन । नेकपा एमालेको नगर अधिवेशनमा अधिवेशन प्रतिनिधिले पार्टी नेताहरुलाई घेरा हाली बैधानिकताको प्रश्न समेत उठाएका छन ।




















