सिन्धुली । सिन्धुलीको दुधौलीमा भरुवा बन्दुक सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चारवटा भरुवा बन्दुक सहित दुधौली नगरपालिका २ जलकिनी र तिनचम्केबाट भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा घरगोठ खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
यसरी पक्राउ हुनेमा दुधौली नगरपालिका २ जलकिनीका ५० वर्षिय नुर बहादुर बस्नेत, ५५ वर्षिय शिव बहादुर कार्की, ४३ वर्षिय चुडा बहादुर राउत रहेका छन भने सोहि वडाको तिनचम्केका ७२ वर्षिय जित बहादुर बरई मगर रहेका छन ।
बरामद गरिएका चार थान बन्दुक मध्ये ३ वटामा नाल भरिएको र एक वटा नाल खाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए । उनका अनुसार बस्नेत, कार्की र राउतको घरबाटै बन्दुक बरामद गरिएको हो भने मगरको बन्दुक छिमेकी भूवन बहादुर राना मगरको गोठबाट बरामद गरिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई आवश्यक अनुसन्धान गरिरहेको लामाले बताएका छन ।




















