सिन्धुली । फिक्कल गाउँपालिकालाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्यका साथ दोस्रो फिक्कल महोत्सव शुक्रबारदेखि गाउँपालिकाको केन्द्र खाङसाङबेशीमा सुरु भएको छ । पर्यटन प्रवद्र्धन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।
स्थानीय उत्पादन, कला, संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित गत वर्षबाट फिक्कल महोत्सवको आयोजना गरिँदै आएको छ । महोत्सवको सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश पहाडीले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सवलाई सम्बोधन गर्दै पहाडीले नेपाल भ्रमण वर्षले विश्वको ध्यान नेपालमा तानेको बताए । भ्रमण वर्षमा पर्यटक भित्राउने लक्ष्य पुरा गर्न यस्ता पर्यटन लक्षित महोत्सव महत्वपूर्ण हुने बताए ।

फिक्कल गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सवमा सुनकोसीमा जलयात्रा गर्न ८ वटा ¥याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ सञ्चालन गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष एवम् महोत्सव प्रचारप्रसार समितीका संयोजक पार्वती सुनुवारका अनुसार सुनकोसीमा गाउँपालिकाको सिमा आरम्भ स्थलदेखी सुनकोसीमा जलयात्रा गर्न ¥याफ्टिङको व्यवस्था गरिएको छ । जसका लागि एक हजार तिरेर जलयात्रा गर्न सकिने र तीन हजार तिरेर आकाशमा प्याराग्लाईडिङका माध्यमले उड्न र अवलोकन गर्न सकिने छ ।
भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले आयोजना गरिएको महोत्सवले फिक्कल गाउँपालिकाका धार्मिक, प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार तथा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा स्थानीय कृषि जडिबुटी, स्थानीय सिप र हस्तकला, साना उद्यमिहरुको उत्पादन आर्कषकको रुपमा रहेका छन ।
महोत्सवमा प्याराग्लाईडीङ, ¥याफ्टीङसँगै स्थानीय समुदायको पहिचान झल्काउने जातिय झाँकी र कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । अर्गानीक खानेकुराको स्वाद चाख्दै सुनकोशी नदि किनारमा १० दिनसम्म रमाउन आउन गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले सबैलाई सार्वजनिक निमन्त्रणा समेत दिएका छन । फागुन १८ गतेसम्म चल्ने महोत्सवमा एकलाख पर्यटकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।



















