सिन्धुली । मरिण गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र निशेधाज्ञा जारी गरेको छ । मरिण गाउँपालिकाको शनिबार बसेको सर्वपक्षिय बैठकले शनिबार राती १२ बजेदेखि जेठ १ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो । मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका क्षेत्र भित्रका सबै नाका शिल गर्ने, अत्यावश्यक सेवा बाहेकका होटल, पसल, हाटबजार, लगाएतका सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै खाद्यान्न, पशुपन्छिका आहारा, इन्धन, दुध तथा डेरी, ग्याँस र तरकारी पसल विहान ६ बजे देखि विहान १० बजेसम्म मात्र खुल्ला गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए । गाउँपालिका क्षेत्रभित्रका अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्थाको सेवा बन्द हुने छन । मदन भण्डारी राजमार्ग तथा अन्य ग्रामीण सडकहरुमा विना पास संचालन भएका सबै सवारी संचालनमा रोक लगाइने भएको छ ।
यस्तै गाउँपालिका भित्र सबै खेलकुद गतिविधि बन्द हुने छन । विवाह व्रतबन्ध तथा अन्तिम संस्कार जस्ता सामाजिक कार्यमा १५ जना मात्र सहभागि हुन पाउने छन । अत्यावश्यक सेवाका कर्मचारीहरु परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन भने अन्य नागरिकलाई घर बाहिर हिड्न समेत रोक लगाईएको छ ।
यस्तै कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सलाई कोभिडका विरामी बोक्न मात्र प्रयोग गरिने छ । कपिलाकोट माविको होस्टेलमा ५ बेडको आईसोलेसन वार्ड स्थापना गरिने र सोहि विद्यालयको अर्को भवनमा क्वारेन्टाईन समेत निर्माण गरिने भएको छ ।
कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि शव व्यवस्थापन स्थल पहिचान गरी सिफारिस गर्ने, स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई विशेष परिस्थिती बाहेक विदा नदिने र सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी तथा सरसफाईका सामग्रीको व्यवस्था गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । मरिण गाउँपालिकामा ३१ जना संक्रमित भएका छन् । त्यस मध्ये १ जना निको भईसकेका छन् भने हाल ३० जना उपचाररत रहेका छन ।





















