सिन्धुली । सिन्धुली कलाघरलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले डेढलाख रुपैंया पुरस्कार दिने घोषणा गर्नु भएको छ । विहिबार राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यासका लागि कमलामाई नगरपालिका २ कुसुमटारमा आउनुभएका प्रधानमन्त्री ओलीले कलाघरका कलाकारको कलालाई सम्मान गर्दै उनीहरुको प्रोत्सानका लागि उक्त पुरस्कार दिने घोषणा गर्नु भएको हो ।
कलाघरका महिलाहरुले पञ्चेवाजा बजाएर र खैजडी भजन गाएर केपी ओलीको स्वागत गरेका थिए । साथै कलाघरका कलाकारले नृत्य समेत प्रस्तुत गरेका थिए । बाध्यवादन र भजनको संरक्षणमा महिलाहरुले योगदान पु¥याए वापत प्रधानमन्त्री ओलीले पुरस्कृत गर्नु भएको हो ।
मन्तव्यका क्रममा पुरस्कार घोषणा गर्दै प्रधानमन्त्री ओली सिन्धुली जिल्ला ऐतिहासिक जिल्ला भएको समेत स्मरण गर्नुभयो । ‘कलाघरका भाइ बहिनी तथा छोराछोरीले बहुतै राम्रा नृत्यहरु प्रस्तुत गर्नु भएको छ र महिलाहरुले बाध्यवादनमा पनि आफ्नो कला देखाउनुभएको छ, म यो सांस्कृतिक टिमलाई बाध्यवादनमा मजबुद हुनका लागि एकलाख दिन्छु, कार्यक्रममा प्रदर्शन गर्नका लागि उहाँहरुलाई कपडा सपडा चाहिन्छ, नक्कली सुन चाहिन्छ, त्यो सबै किन्नका लागि ५० हजार दिन्छु ।’ प्रधानमन्त्री ओली भन्नुभयो ।
ओलीले सो अवसरमा कलाघरका कलाकारहरुलाई बाध्यवादनका सामान किन्न र कलामा निखारता ल्याउन उक्त पुरस्कार दिने घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले भन्नुभयो ‘नयाँ नयाँ बाध्य वादन किन्न सक्नुहोस, सिक्न सक्नुस, राम्रो अभ्यास बनाउनुस र जहाँ पुग्छ सिन्धुलीको सांस्कृतिक टिम त्यहाँ तहल्का मच्चाउँछ भन्ने गराउनुस शुभकामना छ ।’
उक्त पुरस्कार वापतको रकम केहि दिनमा कलाघरलाई पठाउने प्रतिवद्धता व्यक्त गर्नु भएको कलाघरका अध्यक्ष सुमन थापाले बताउनुभयो ।
कलाघर कमलामाई नगरपालिका वडा नं. ३ को चपौलीमा निर्माणाधिन अवस्थामा रहेको छ । कला, संस्कृतिको संरक्षणमा उनीहरुको योगदान जिल्लामा महत्वपूर्ण रहेको छ ।





















