सिन्धुली । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा सिन्धुलीका १० जना कैदीको कैद मिनाहा भएको छ । ४ सय ४४ जना कैदी बन्दी रहेको सिन्धुली कारागारका आधा कैद सजाय भुक्तान गरि आचरण व्यवहारमा सुधार ल्याएका दश जना कैदीको कैद मिनाहा भएको कारागार कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुली कारागारमा रहेका सवारी ज्यान मुद्दा खेपेका ४, कर्तव्य ज्यान मुद्दाका १, सवारी अंगभंग १, हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग १, नकवजनी चोरी १, कर्तव्य ज्यान र डाँका मुद्दाका एक जना गरि १० जना कैदीको कैद मिनाहा भएको कारागार कार्यालयले जनाएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा मन्त्रीपरिषदको निर्णय अनुसार राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रचलन रहेको छ । जसका लागि कारागार व्यवस्था विभागले गृहमन्त्रालय मार्फत मन्त्री परिषदमा आधा कैद मिनाहा भई व्यवहार सुधार भएका व्यक्तिहरुलाई कैद मिनाहाका लागि सिफारिस गर्ने गर्दछ । कैद मिनाहा भएका सबै कैदीहरु पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्मिलनका लागि घर फर्केका छन ।





















