सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं. ५ मा भएका टोल विकास संस्थाहरुको वडा स्तरीय समन्वय समितिले ७१ ऋौं प्रजातन्त्र दिवसका अवसरमा सिन्धुलीमाढीको ग्वाङखोला क्षेत्रको सरसफाई गरेका छन । ग्वाङखोलाको वडा नं. ५ भित्र रहेको क्षेत्रमा विशेष सरसफाई गरिएको हो ।
कमलामाई नगरपालिकाको सहयोग तथा वडा भित्रका २७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरी शसस्त्र प्रहरीले ग्वाङखोलामा सरसफाई गरेका हुन ।
कमलामाई नगरपालिकाको हरित शहर निर्माण, प्लाष्टिक रहित शहर, खुला दिसामुक्त शहर, स्वच्छ नदीको शहर र मेलमिलापयुक्त शहर निर्माण गर्ने अभियान अन्तर्गत वडा नं. ५ को वडास्तरीय टोल समन्वय समितिले खोलाको सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रमको समापनमा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले कुहिने र नकुहिने मल छुट्टै राखेर नकुहिने बस्तुलाई बिक्री गर्ने र कुहिने मललाई कम्पोष्ट मल बनाउन टोल विकास संस्थाहरुलाई आग्रह गरेका छन ।
उनले उपस्थित नागरिकहरुलाई प्लाष्टिकको झोलाको अन्त्य गर्ने नगरपालिकाको अभियानमा सहयोग गरिदिन आग्रह समेत गरेका छन । उनले भनेका छन, ‘कम्तिमा जति उपस्थित हुनुहुन्छ आजै देखि प्लाष्टिक झोला नबोकिदिनुस्, बोक्नै पर्ने अवस्थामा जम्मा गरेर सुरक्षित ठाउँमा राखिदिनुहोस, त्यो नगरपालिकाले बोक्छ ।’ उनले थपेका छन्, ‘सक्नुहुन्छ भने नगरपालिकाबाट प्लाष्टिकको झोला अन्त्य गरिदिनुस, मेरो नगरपालिकाको तर्फबाट अनुरोध छ ।’
उनले चुरेदेखि सिन्धुलीगढीसम्मको हाईवेको फोहोर व्यवस्थापनमा लागेको समेत जानकारी दिएका छन ।
उनले फोहोरको व्यवस्थापनका लागि वडा नं. ५ ले गरेको प्रयासको सह्राना गर्दै नगरपालिकाको बजेटको सदुपयोग गरेर काम गर्न समेत समन्वय समितिलाई आग्रह गरेका छन । नगरपालिकामा टोल विकासको समन्वय समिति बनाई सरसफाईको अभियान सुरु गरेको पहिलो पटक हो ।

























