नेपाल पत्रकार महासंघ सिन्धुलीको १५ औं साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा सिन्धुलीका दुईजना क्रियाशिल पत्रकार महिला पुरस्कृत भएका छन ।
दोलखाका पत्रकार महेन्द्र श्रेष्ठले स्व. छोरा सुजलको नाममा स्थापना गरेको सुजल पत्रकारिता पुरस्कार साधारणसभाका अवसरमा बालबालिका उमेरदेखि नै बालबालिकाकै क्षेत्रमा आवाज र कलम चलाएकी तथा निरन्तर पत्रकारीता गरिरहेकी पत्रकार कृञ्जला पुलामीलाई दिइएको छ । उनी जिल्लामा रहि २०६७ देखि पत्रकारितामा क्रियाशिल रहेकी छिन ।
यस्तै यसै वर्षदेखि पत्रकार महासंघ सिन्धुलीले स्थापना गरेको महिला पत्रकारीता पुरस्कार पत्रकार सरला सुनुवारलाई दिईएको छ । पहिलो वर्षको पुरस्कार २०६९ सालदेखि जिल्लामा पत्रकारीता गर्दै आएकी सरला सुनुवारलाई दिने निर्णय गरेको थियो ।
दुवै पुरस्कार महासंघका उपाध्यक्ष विमला पाण्डेको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले छनौट गरेका महिला पत्रकारलाई दिइएको हो । छनौट समितिको सिफारिस र कार्यसमितिको निर्णयबाट दुवैजनालाई पुरस्कारका लागि छनौट गरिएको हो ।
सुजल पत्रकारिता पुरस्कारको राशि ३ हजार ३ सय ३३ रुपैंया रहेको छ भने महिला पत्रकारिता पुरस्कारको राशी ५ हजार १ सय ५१ रहेको छ । पुरस्कृत हुने पुलामी क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) सिन्धुलीका अध्यक्ष हुन भने सुनुवार उपाध्यक्ष हुन ।
पुलामी हाल रेडियो पत्रकारीता छोडी कारोबार दैनिकमा काम गर्छिन भने सुनुवार रेडियो सिद्धवावामा कार्यरत रहेकी छिन । उनीहरुलाई क्रियाशिलता र निरन्तरताको समेत मुल्यांकन गरि पुरस्कृत गरिएको महासंघले जनाएको छ ।























