सिन्धुली । घरायसी विवादमा भाइले बञ्चरो प्रहार गरि, खुकुरीले घाँटी रेटि आफ्नै दाजुको हत्या गरेका छन । मरिण गाउँपालिका वडा नं. ३ मथौलीका अन्दाजी ४१ वर्षका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै दाजु ४८ वर्षिय चेत बहादुर बम्जनको बञ्चरो प्रहार गरि, खुकुरीले घाँटी रेटि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विहिबार दिउँसो बाबुआमासँग आफ्नै घरमा आएर बसेका दाजुलाई घरमा जा मेरो घरमा किन आएको भन्दै भाईले लखेट्न खोजेको र नगएपछि भाईले पछाडीबाट बञ्चरोको पासोले हिर्काएको पाईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सन्तोष पोखरेलका अनुसार भाईले दाजुलाई बञ्चरो प्रहार गरि खुकुरीले घाँटी समेत रेटेर हत्या गरेका छन । उनका अनुसार दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दाजुको हत्या गरेको आरोपमा भाईलाई मरिण ३ मथौलीमा रहेको आफ्नै घरबाट राती पक्राउ गरिएको पोखरेलले बताए । उनका अनुसार शुक्रबार म्याद थप गरि अनुसन्धान थालिने भएको छ । मृतकको शव पोष्ट मार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।




















