सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनःनिर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका र पर्यटन विकास आयोजना बागमती प्रदेशको संयुक्त पहलमा ऐतिहासिक सिन्धुलीगढी दरवारको पुनःनिर्माण हुने भएको हो ।

उक्त दरवारको पुनः निर्माण लागि चार करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैंया लागतमा हुने गरि ठेक्का स्वीकृत भएको छ । वाग्मति प्रदेश सरकार पर्यटन विकास आयोजनाले माघ ८ गते उक्त ठेक्का स्वीकृत गरि पुनःनिर्माण सुचारु भएको जनाएको छ ।
रानी दरबारको पुनःनिर्माणको जिम्मा तुल्सी÷एरिसा जेभि भक्तपुरले पाएको छ । उक्त कम्पनीले रानी दरवारको पुनःनिर्माणको काम २०७९ जेठ १६ गतेसम्म गरिसक्नुपर्ने छ ।
सिन्धुलीगढीमा रहेको रानी दरवारको तत्कालिन श्री ३ माहाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले वनाएका थिए । यो दरवार पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा रहेको थियो ।
पछि राणा शासनको अन्त्य भैसकेपछि यो दरवार राष्ट्रिय स्वामित्वमा आएको थियो र जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरी सकेपछि विस्तारै विस्तारै यो दरवार प्रयोजन विहिन बन्न गई भग्नावशेषको रुपमा परिणत भएको थियो ।
सिन्धुलीगढीको इतिहासका जानकार एवम् कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय गन्तव्य बनाउने कमलामाईको अठोटलाई पुरा गर्न सिन्धुलीगढी दरवारको (रानी दरवारको) पुनःनिर्माणले थप सहयोग पुग्ने बताए ।




















