सिन्धुली । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएसँगै सिन्धुलीमा पनि सोमबार राती खोप आईपुगेको छ । खोप आएसँगै कोभिड १९ अर्थात कोरोना विरुद्धको खोप बुधबार दिउँसो देखि खोप लगाईने भएको छ ।
जिल्लामा १५० भाइल खोप आएको छ । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम् सेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सहित १ हजार ५ सय जनालाई खोप लगाउन सकिने छ । स्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लाका १ हजार ६ सय ९२ जनालाई खोप लगाउनका लागि सूचि तयार गरेको थियो ।
बुधबार सिन्धुली अस्पतालमा केन्द्र राखी खोप लगाउन सुरु गरिने भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । सरकारले केन्द्र, सबै प्रदेशमा एकै पटक खोप लगाउन सुरु गर्नेछ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान १० बजे गर्नुहुने भएको छ । त्यो सँगै सिन्धुलीमा पनि खोप लगाउन सुरु गरिने भएको छ ।





















