सिन्धुली । सुनकोशी गाउँपालिका सोमबार दिनभर तनाव ग्रस्त भयो । गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग गरि गाउँपालिका घेराउ गरेका हुन । उनीहरुले गाउँपालिकामा नारावाजी र ढुंगामुढा समेत गरे ।
उनीहरुले सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, नेत्रकाली, तालढुंगा ग्रामीण कृषि सडक निर्माणको काम ढिला भएको र उक्त सडकको ख खण्डको रुट परिवर्तन गरिएके भन्दै विरोध जनाएका हुन । उनीहरुले दिनभर गाउँपालिकाको कायाृलयमा कामकाज समेत ठप्प पारेका छन ।
जनतालाई जानकारी नदिई गरिएको डिपिआर खारेज गर्न र नागरिकलाई पायक पर्ने गरि सडक आयोजना निर्माण गर्न गाउँपालिकामा उनीहरुले माग गरे ।
पुस १८ गते १५ दिने अल्टिमेटम सहित दिईएको ज्ञापनपत्रको कार्यान्वयन नभएपछि स्थानीयले आन्दोलन गरेका हुन । कानुनी परामर्श समिति, संघर्ष समिति र आर्थिक समिति समेत गठन गरि सडकको रुट परिवर्तनको विरोधमा आन्दोलनमा उत्रेको स्थानीयले बताएका छन । सिमित व्यक्तिको स्वार्थका लागि रोडको रुट फेरिएको स्थानीयको आरोप छ ।
यस्तै स्थानीय जनताको माग सुनुवाई नभएको र स्थानीय सरकारको मिलेमतोमा रुट परिवर्तन भएको भन्दै उनीहरुले आक्रोस समेत व्यक्त गरेका छन । उनीहरुले सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, नेत्रकाली, तालढुंगासम्म सडक निर्माण हुनुपर्नेमा स्थानीयलाई जानकारी नै नदिई सडक नागी मझुवा गौंखर्क, अमारे, मुलकोट हुदै दुम्जा लान थालेकोमा विरोध जनाएका हुन ।
भौतिक पूर्वाधार विकास कार्यालय रामेछापले हेर्ने गरि वाग्मति प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन थालेको सडकमा स्थानीयहरु असन्तुष्ट देखिएपछि गाउँपालिकाले संघर्ष समितिसँग सोमबार नै छलफल गरेको छ ।
उपयुक्त समय मिलाएर भौतिक पूर्वाधार विकास मन्त्री समक्ष गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. २, ४, ५ र ७ का वडाअध्यक्षहरु तथा स्थानीयहरु सम्मिलित टोलीले डेलिगेशन जाने र डिपिआर बनाउन छलफल गर्ने सहमति भएपछि संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । यसअघि स्थानीयले वडा नं. ७ को वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।























