सिन्धुली । सरकारले संविधानको मर्म र भावना विपरित संसद् विघटन गरेको भन्दै नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल पक्षले सिन्धुलीमाढीमा विरोध प्रदर्शन गरेको छ । आइतबार नेकपाका स्थायी कमिटि सदस्य हरिवोल गजुरेल, नेकपा केन्द्रीय सदस्यहरु कमलजंग राई, गणेश कुमार पहाडी, राजन दाहाल लगाएतका नेताहरुको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।

असंवैधानिक कदम फिर्ता गर, पार्टी एकता कायम गर जस्ता नारा ¥यालीमा लगाइएको थियो । नेकपा पार्टी कार्यालय अगाडि सडकबाट निस्किएको ¥यालीले सदरमुकाम सिन्धुलीमाडीको बजार परिक्रमा गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल–नेपाल पक्षका नेता तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले संविधानमा नै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरि संसद विघटन गरेकाले संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरे । उनले गलत कदम भएका कारण आफ्नै पार्टीको सरकारका विरुद्धमा उत्रनु परेको बताएका छन ।
गजुरेलले नेपाली जनताको चाहना अनुसार पार्टी एकता गरिएको र पार्टीलाई फुटबाट बचाउनुपर्नेमा जोड दिए । केपी ओलीले पार्टी फुटाउन प्रयास गरिरहेको उनको आरोप थियो । आफुहरु फुटको पक्षमा नभई पार्टी एकताको पक्षमा रहेको पनि उनले बताएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् विघटित संसदका सदस्य गणेश कुमार पहाडीले संविधान र गणतन्त्रको रक्षाका लागि सडकमा ओर्लिएको बताएका छन ।
यस्तै नेकपाका केन्द्रीय सदस्य एवम सिन्धुलीका अध्यक्ष राजन दाहाल पार्टी विचार, विधान अनुसार चल्नुपर्नेमा जोड दिएका छन ।





















