सिन्धुली । एक स्थानीय तह एक अस्पताल अन्तर्गत सिन्धुलीको दुधौलीमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ भने तिनपाटनको लाम्पानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको उद्घाटन गरिएको छ ।
नेपाल सरकारको लगानीमा सञ्चालन हुने ती अस्पतालको सोमबार शिलान्यास तथा उद्घाटन गरिएको हो । दुधौलीमा १५ शैयाको अस्पतालको प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले शिलान्यास गरेका छन ।
हरेक स्थानीय तहमा अस्पताल र चिकित्सकीय सेवा पु¥याउने सरकारको लक्ष्य अनुरुपमा दुधौलीको सिर्थौलीमा १५ शैयाको अस्पताल बन्ने भएको हो भने लाम्पानटारमा निर्माण सम्पन्न भईसकेको छ ।
अस्पतालको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य पहाडीले सरकारले विपन्न नागरिकलाई संविधानको मौलिक हकमा व्यवस्था गरिएको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न अस्पताल निर्माणको अभियान थालेको बताएका छन ।
पहाडीले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको हक उपलब्ध गराउन सरकारले अस्पताल निर्माणको अभियान सुरु गरेको बताए ।

यसैगरि लाम्पानटारमा अस्पतालको उद्घाटन गर्दै वाग्मति प्रदेशसभा सदस्य प्रदीप कटुवालले दुर दराजका नागरिकको पहँुचमा स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरेका छन । उनले गाउँमै अस्पताल बन्दा सहजै नागरिकले उपचार पाउने बताए ।
























