सिन्धुली । कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिका अन्तर्गतका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि ती दुवै स्थानीय तहले आपतकालिन बाहेकका सबै सेवा बन्द गरेका छन ।
कमलामाई नगरपालिकाको शनिबार बसेको कार्यपालिकाको बैठकबाट अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका शाखाहरु, १४ वटा वडा कार्यालयका सेवाहरु बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरराज लुईटेलले जानकारी दिएका छन ।
उक्त सूचनामा नगरपालिका र सो मातहतका सेवाहरु कार्तिक ३ गतेसम्मका लागि बन्द गरिएको जनाईएको छ ।
नगरपालिकाले उक्त अवधिमा नगरमा दमकल सेवा, फोहर मैला व्यवस्थापन सेवा, नगर सुरक्षा सेवा र स्वास्थ्य सेवा बाहेकका सबै सेवा बन्द हुने भएको जनाएको हो ।
यस्तै गोलञ्जोर गाउँपालिका पनि गाउँपालिकामा कार्यरत केहि कर्मचारीहरुमा कोभिड १९ संक्रमण देखिएको जनाउँदै उनीहरुको पुनः परिक्षण तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम नसकुन्जेलका लागि आपतकालिन सेवा बाहेकका सबै सेवा बन्द भएको जनाएको छ ।
शिक्षा, स्वास्थ्य र वडा कार्यालयहरुबाट दिईने आकस्मिक सेवा बाहेकका कुनै पनि काम नगरिने जनाएको छ । यस अघि दुधौली नगरपालिकाले पनि संक्रमणको जोखिम रहेको भन्दै सेवा बन्द गरिसकेको छ ।






















