सिन्धुली । नेपालमा दैनिक ७ वटा बलात्कारका घटना हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीमा दर्ता हुन आएका घटनालाई विश्लेषण गर्दा दैनिक सात वटा बलात्कारका घटना हुने गरेको देखिएको ओरेक नेपालले जनाएको छ ।
कोभिड १९ का कारण भएको बन्दाबन्दीको समयमा लैङ्गिक हिंसाका कारणले ४७ महिलाको हत्या भएको पनि तथ्यांकले देखाएको छ । घटनाले महिला तथा बालिकामाथि हुने हिंसाको कहाली लाग्दो अवस्था हाम्रो समाजमा रहेको देखाएको छ ।
विश्व अहिंसा दिवसको दिन शुक्रबार ओरेक नेपाल सिन्धुलीका जिल्ला संयोजक सपना थापाले प्रेस विज्ञप्ती जारी गरि सबैखाले विभेदलाई अन्त्य गरि समान शक्ति सम्बन्ध कायम गर्न, दण्डहिनताको अन्त्य र राजनीतिक प्रभावमा अपराधि बचाउने परिपार्टीको अन्त्य गर्न, द्रुत न्याय प्रणालीलाई प्रभावकारी बनाउन, न्यायलाई सामाजिक न्यायका रुपमा व्याख्या गर्न र शुन्य सहनशिलतालाई सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन ।
उनले जारी गरिएको विज्ञप्तीमा बलात्कार जस्तो अपराधलाई इज्जत र प्रतिष्ठाको विषय बनाई मेलमिलाप गराउने प्रभावित व्यक्तिलाई लाञ्छना, डर, धम्कि दिने, बसिरहेको स्थान छोड्न बाध्य बनाउने, उजुरी दर्ता गर्न नमान्ने, परिवार र पीडितलाई राजनीतिक दवाव दिने जस्ता कार्य भईरहेकाले प्रभावित केन्द्रीत सुरक्षित, संवेदनशिल, दिर्घकालिन र पहुँचयुक्त सहयोगी संयन्त्रको निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ ।
ओरेक नेपालका संयोजक सपना थापाले बलात्कार तथा लैङ्गिक हिंसाका बारेमा जनचेतना, ंिहंसा नुहने वातावरण निर्माण, प्रभावितको सामाजिक न्याय तथा कानुनी न्यायको अधिकार सुनिश्चितताकाको वातावरण निर्माणका लागि मौनता तोडौं अभियान गरिएको प्रेस विज्ञप्ती मार्फत जनाएकी छिन ।
बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान ‘मौनता तोडौं’ मा सबैको सहकार्यका लागि अपिल समेत गरिएको छ । यो अभियान अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका दिनदेखि सुरु भएर मानव अधिकार दिवस १० डिसेम्बरसम्म सञ्चालन हुने भएको छ । अभियानको अवधिमा धर्ना, राजनैतिक दल तथा सरकारी निकायलाई ध्यानाकर्षण, समुदायस्तरमा सचेतीकरण कार्यक्रम, परामर्श गोष्ठी तथा बहसहरु सञ्चालन हुनेछन् ।
यो अभियान पहिलो दिन रुकुम, कैलाली, दाङ, मोरङ्ग, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, ललितपुर, बर्दिया र सिन्धुलीबाट सुरु भएको छ । मानवअधिकारकर्मीहरुले बलात्कार तथा लैङ्गिक हिंसाको अन्त्य तथा यसबाट प्रभावितका लागि आत्मसम्मान सहितको न्यायको माग गरेका छन् ।





















