सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सबै शिक्षक रहेका छन । संक्रमित मध्ये २ जना महिला रहेका छन । उनीहरु जिल्ला बाहिरबाट सिन्धुली फर्केका थिए ।
उनीहरु ३० देखि ५८ वर्ष उमेरका रहेका छन । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जनाए अनुसार यो संख्यासँगै आइतबार मात्रै सिन्धुलीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एकै परिवारका ६ जना संक्रमित समेत भेटिएका छन ।
लकडाउनको अवधिमा घर गएका शिक्षकहरु विद्यालय खोल्ने तयारीका लागि गाउँपालिका फर्केपछि उनीहरुलाई होम क्वारेन्टाईनमा राखिएको थियो । उनीहरुलाई परिक्षणको लागि स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।
सिन्धुलीका सबै स्थानीय तहले विद्यालय खोल्ने तयारी गरिरहेका छन । जिल्ला बाहिर रहेका शिक्षकहरु धमाधम भित्रन थालेका छन । जिल्लाका नौ वटै स्थानीय तहले विद्यालय खोल्नुपूर्व बाहिरबाट आउने शिक्षकहरुलाई क्वारेन्टाईनमा राखि परिक्षण गर्ने भएका छन । सोहि अनुरुप परिक्षण गर्दा ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।
यो सँगै सक्रिय संक्रमितको संख्या २५ पुगेको छ भने ६१ जना निको भएर घर फर्किसकेका छन ।





















