सिन्धुली । मरिण गाउँपालिकाले कोरोना भाईरस रोकथाम तथा यस अन्र्तगत भएको खर्च सार्वजनिक गरेको छ । गाउँपालिकाको कोष, प्रदेश र संघबाट प्राप्त अनुदान र अन्यबाट प्राप्त सहयोग गरी एक करोड २१ लाख १२ हजार २ सय ८८ रूपियाँ प्राप्त गरेको र त्यसमा २०७७ असार मसान्तसम्म ९६ लाख ५० हजार ८ सय ६६ रूपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका स्तरीय विपद व्यस्थापन समितिको बिहिबारको बैठकले पास गरि हिसाव किताव सार्वजनिक गरेको हो । गाँउपालिकाले कोरोना सचेतनाका लागि १० लाख ६७ हजार ८ सय २२ रूपियाँको साबुन खरिद गरी वितरण गरेको जनाएको छ ।
यस्तै श्रमिक रोजगारीमा ३९ लाख ६७ हजार ६ सय रूपियाँ खर्च भएको जनाइएको छ । मास्क, सेनिटाइजर, पीपीई सेट, थर्मल गन र सरसफाईमा सात लाख ८२ हजार ६ सय ९५ रूपियाँ खर्च भएको गाँउपालिकाले जनाएको छ ।
त्यस्तै, औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री भनेर आठ लाख ९९ हजार ५सय ६३ रूपैयाँको खरिद गरिएको जनाईएको छ ।
गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा गरिएको खर्च सार्वजनिकीकरणमा कोरोना रोकथाम समूहको खाजा र यातायात खर्च, सरसफाईकर्मीको पारिश्रमिक तथा स्वास्थ्यकर्मीको जोखिम भत्तामा २२ लाख ९४ हजार ३ सय ९० रूपियाँ खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।






















