सिन्धुली । नेपाली कांग्रेस साविक जरायोटार गाउँ कमिटिका पूर्व सभापति गाउँ कमिटिका पूर्व सभापति पूर्ण बहादुर गिरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन । उनले २९ वर्षको कांग्रेसको राजनीति त्यागी मंगलबार नेकपामा प्रवेश गरेका हुन । उनी तिनपाटन गाउँपालिका वडा नं. ४ का निर्वाचित वडा सदस्य समेत हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष राजन दाहालले जनताको सेवा गर्ने प्लेटफर्म कम्युनिष्ट पार्टी भएको बताए । उनले वर्गिय धरातलमा आएर इमान्दर, योग्य र सक्रिय व्यक्तिले प्रगति गर्न सक्ने बताए । दाहालले वहुदलिय समाजवाद आजको आवश्यकता रहेको बताउँदै उक्त विषयमा बहस हुनु आवश्यक रहेको बताए । उनले विगतका कमजोरीबाट शिक्षा लिई एकता र समाजवादको यात्रामा सबै कार्यकर्तालाई लाग्न अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका सचिव प्रदीप कटुवालले देश बनाउन र समृद्धिको अभियानमा पार्टी एकताको विकल्प नरहेको बताए । उनले पार्टी भित्र हाल चलेको विवादलाई एकता टुटाउने प्रपञ्च भन्दै एकताको सन्देश दिन सिन्धुली तयार रहेको बताए । कटुवालले भने, ‘सिन्धुली एक छ, एकताको सन्देश दिन तयार छ, कार्यकर्ता नबाँडिनुस ।’
कार्यक्रममा बोल्दै नेकपामा प्रवेश गरेका गिरीले पार्टीलाई सुदृढ बनाउन लागि पर्ने बताए । कार्यक्रमको सहजीकरण नेकपा सिन्धुलीका कार्यालय सदस्य प्रलाद पोखरेलले गरेका थिए ।




















