सिन्धुली । सिन्धुली अस्पतालको आपतकालिन कक्ष (इमर्जेन्सी) मा उपचाररत एक महिलाको विहिबार राती मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचार गर्दै गर्दा महिलाको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रशन्न राजभण्डारीले बताए । महिलामा कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाव संकलन गरि परिक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाईएको छ । महिलाको फोक्सोमा पानी जमेको, मृगौला कमजोर देखिएको अस्पतालले जनाएको छ ।
डा. राजभण्डारीका अनुसार उनको फोक्सोमा ३ लिटर पानी जमेको थियो । अस्पतालले पानी निकालेर समेत फालेको थियो । तथापी उनलाई उपचारमा ढिलो ल्याएका कारण बचाउन नसकिएको अस्पतालले जनाएको छ । ‘महिलाको रगतमा संक्रमण भएका कारण फोक्सो, किड्नी लगाएतमा समस्या आएको थियो’ – डा. राजभण्डारीले भने ।
असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङ्लेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा.राजभण्डारीले बताए । तीनचार दिनदेखि ज्वरो आएको र महिलालाई ढिलो गरि भर्ना गर्न ल्याईएको थियो ।
महिलाको मृत्यु भए पछि जिल्ला प्रशासन, प्रहरी र नेपाली सेनाको समन्वय पछि विरामीको सम्पर्कमा आएका महिलाका परिवारले मात्र दाहा संस्कार गर्ने गरि शव परिवारको जिम्मा लगाईएको डा. राजभण्डारीले बताए । यस्तै ती महिलाका परिवारलाई कोरोना परिक्षणको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको छ । यस्तै विरामीको उपचारमा संलग्न सिन्धुली अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरि ५ जनालाई सेल्फ क्वारेन्टाईनमा राखिएको छ ।




















