सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा रहेका ३ जना कोभिड १९ संक्रमितले डब्लुएचओ तथा स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गरिसक्दा पनि डिस्चार्ज हुन पाएका छैनन । स्थानीय तह, स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय, सिन्धुली अस्पतालबीच पुनः चेक नगरी डिस्चार्ज गर्ने विषयमा सहमति नजुटेपछि संक्रमितले १४ दिन पुरा गरिसकेपछि पनि डिस्चार्ज हुन सकेका छैनन ।
उनीहरुले आइसोलेसनमा १८ देखि २० दिन विताई सकेका छन । स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका संक्रमितबाट कोरोना भाइरस नसर्ने भन्दै १४ दिन पुगेकाको परिक्षण गर्न मानेको छैन भने स्थानीय तहले ती संक्रमितको पुनः परिक्षण गरेर मात्र लाने जनाएको छ । जसका कारण सिन्धुली अस्पतालले ती संक्रमितलाई डिस्चार्ज गर्न सकेको छैन ।
‘स्वास्थ्य मन्त्रालय विना उपयुक्त कारण ती संक्रमितको पुनः पिसिआर जाँच गर्न मानेको छैन, स्थानीय तह, स्थानीय प्रशासन लगाएतका सरोकारवालाले परिक्षण नगरी डिस्चार्ज गर्न मान्दैनन ’ सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन लक्ष्मण खड्काले भने, ‘के गर्ने के नगर्ने ? हामीलाई समस्या भएको छ ।’
मन्त्रालयले कोभिड–१९ को नमुना परिक्षण निर्देशिका जारी गर्दै संक्रमितहरुलाई सिम्ट्रम फ्रि भएको तिन दिन र आइसोलेसन भएको १४ दिनपछि अर्को कुनै टेष्ट नगरी डिस्चार्ज गर्न गराउन भनि सबै कोभिड अस्पताललाई निर्देशन दिएको छ ।
अस्पतालका अनुसार कोभिड १९ संक्रमितलाई स्थानीय तहको जिम्मा लगाउनुपर्ने हो तर कमलामाई नगरपालिका र तिनपाटन गाउँपालिकाले जिम्मा लिन मानेको छैन । विरामीको जिम्मा लिने निकाय नभएपछि ३ जना आइसोलेसनमै बस्न बाध्य भएका छन ।
सिन्धुली अस्पतालको आइसोलेसनमा भारतबाट फर्किएका कमलामाई १४ रानिवासका २३ वर्षका पुरुष, कमलामाई ११ का वर्ष १७ वर्षका पुरुष र तिनपाटन गाउँपालिका ३ का २५ वर्षका पुरुषमा कोरोना पुष्टि भएपछि उनीहरु आइसोलेसनमा छन । उनीहरु मध्ये रानीबासका पुरुष २० दिन देखि र अन्य २ जना १८ दिनदेखि आइसोलेसनमा उपचाररत छन् । उनीहरुलाई अस्पतालले सोमबार नै डिस्चार्ज गर्ने तयारी गरेको भए पनि आपसी समझदारी बन्न नसक्दा समस्या भएको छ ।
परिक्षण विना स्थानीय तहले जिम्मा नलिने भए पछि सिन्धुली अस्पतालले आइसोलेसनमा रहेका ४ जना कै स्वाव संकलन गरि परिक्षणका लागि पठाएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले जानकारी दिएका छन । एकजना भने पछि संक्रमण पुष्टि भएका कनपा १० का युवा हुन । उनीमा पनि कुनै लक्षण नदेखिएकाले परिक्षणका लागि पठाईएको हो । चारै जना भारतबाट आई क्वारेन्टाईनमा रहेका व्यक्ति हुन । संक्रमण पुष्टि भए पछि सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।





















