सिन्धुली । सिन्धुलीमा पछिल्लो समय लकडाउन फितलो हुन थालेको छ । नागरिक तथा व्यवसायीहरुले पसल खोल्ने र सवारी साधनहरु चल्न थालेपछि यहाँको लकडाउन कमजोर बन्दै गएको हो । जिल्लामा हालसम्म ३ जनामा कोरोना संक्रमण देखिएको भए पनि व्यापार घाटा भएको भन्दै व्यवसायीहरुले स्वतःस्फुर्त पसल खोल्न थालेका हुन ।

सदरमुकाममा साना सवारी साधनहरु बाईक, अटो, बोलेरो लगाएतका सवारी साधनहरु समेत अत्यधिक चल्न थालेका छन । जिल्ला प्रशासनले अत्यावश्यक वस्तुहरुका पसल बाहेक खोल्न नपाईने भने पनि त्यसको उलंघन गर्दै व्यवसायीहरुले पसल खोल्न थालेका हुन ।

प्रशासनले तोकेको समय भन्दा पनि दिनभर नै दुरी कायम नगरि पसलहरु खुल्न थालेका छन ।
यस्तै तराईका संक्रमित जिल्लाहरु महोत्तरी, सर्लाहि, रौतहट, वारा, पर्सा, जनकपुरबाट विना सुरक्षा सतर्कता तरकारी, फलफूल, निर्माण सामग्रीहरु आईरहेका छन । 
विशेष गरि तरकारी बजारमा तराई जाने आउने र असुरक्षित तरिकाले व्यवसाय सञ्चालन भईरहेकाले समुदायमा कोरोना संक्रमण हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन ।
यस्तै जिल्लामा सञ्चालन भईरहेका विकासका काममा समेत दुरी कायम गराउने र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने गरेको पाईदैन ।



















