सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरि उपचार सुरु गरिएको छ । भारतबाट आई कमलामाई नगरपालिका वडा नं. १४ मा रहेको जनता मावि चन्दनपुरमा रहेको क्वारेन्टाईनमा बसेका २३ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो ।

संक्रमित व्यक्तिलाई एम्बुलेन्समा सिन्धुली अस्पताल ल्याई आइसोलेसनमा उपचार सुरु गरिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीका अनुसार उनको स्वास्थ्यमा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको छैन । उनी सामान्य अवस्थामा छन ।
यसैबीच सिन्धुली अस्पतालले अस्पतालको नियमित सेवामा कुनै प्रभाव नपर्ने जनाएको छ । कोरोना संक्रमितलाई सुरक्षित तरिकाले उपचार गरिएकाले सबै खाले सेवा नियमित रहेको डा. राजभण्डारीले बताएका छन । उनले त्रासको वातावरण नबनाउन र विरामीको उपचार निर्वाध रुपमा गराउन सबैमा अनुरोध गरेका छन । अस्पतालमा ओपिडी, इमर्जेन्सी, प्रसुति लगाएतका सबै सेवा नियमित रहेको पनि उनले जानकारी दिएका छन ।
क्वारेन्टाईनमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय सिन्धुलीले कन्ट्रयाक ट्रेसिङको काम सुरु गरेको छ । क्वारेन्टाईन क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितको टोली जान थालिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।



















