सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले राजनीतिक दलहरुले लगाएको आरोपको खण्डन गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरि नगरपालिकाले बाँडेको राहतमा कुनै अनियमितता नभएको, राहतमा तौल कमी नभएको र गुणस्तरमा कुनै कमी नभएको दावी गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग खत्रीले नेपाली कांग्रेस लगाएतका दलहरुले लगाएको आरोप तथ्यमा आधारित नभएको बताए । उनले भने, ‘नगरपालिकाले वितरण गरेको राहत प्रक्रियागत रुपमा खरिद गरिएको, गुणस्तर, तौल र मुल्य महंगो नभएको छ, जिम्मेवार राजनीतिक दलले नगरपालिकालाई तथ्यमा रहेर आरोप लगाउनुस ।’
खत्रीले जिम्मेवार राजनीतिक दलले लगाउने आरोप तथ्यमा आधारित हुनपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कमलामाई नगरपालिकाको १३ र १४ मा बाँडिएको राहतमा २० किलोको चामलमा १८ किलो मात्र भएको भन्दै मिडियाबाजी गरेको थियो ।
यस्तै सोमबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा अनियमितताको छानविन माग गर्न प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले कमलामाई नगरपालिकाले विपदमा अनियमितता गरेको आरोप सहित छानविनको माग गरेका थिए ।
उक्त मागपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, नेपाली कांग्रेसका सभापति उज्जल बराल, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, इलाका प्रहरी कार्यालय भिमानको टोली वडा अध्यक्षहरु सहित कमलामाई नगरपालिका वडा नं. १३ र १४ मा बाँडिएको राहत जफत गरि तौल लिईएको छ ।
राजनीतिक दलहरुले लगाएको आरोप जस्तै तौलमा कमी नपाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । २० केजीको चामलको बोरामा ४० देखि ६० ग्राम चामल बढी भएको र खाद्यान्न खानलायक रहेको पाईएको उक्त टोलीले जनाएको छ ।
चमल तोकिएको मापदण्ड र परिणाममा कमी नपाईएपछि भेटिएपछि नगरपालिकाले मंगलबार विहान पत्रकार सम्मेलन गरि तथ्यमा आधारित रहेर आरोप लगाउन सार्वजनिक रुपमा अपिल गरेको हो । नगरपालिकाले आम नागरिकमा भ्रम फैलाउने गरि मिडियाबाजी नगर्न समेत जिल्लाका राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ । कमलामाई नगरपालिकाको १३ र १४ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ । यस्तै गुणस्तरको विवाद आएको वडा नं. ४ मा पनि नेपाली कांग्रेसका महेन्द्र प्रसाद ढकालले जितेका छन ।
यसैबीच नगरपालिकाले रेडक्रस प्लान नेपाल र अन्य संघसंस्थाले नगरपालिकासँग समन्वय गरेर राहत बाँडेकाले अनियमितता नभएको समेत दावी गरेको छ । नेपाली कांग्रेसले उठाएको क्वारेन्टाईनको व्यवस्थापनमा पनि समस्या नरहेको दावी गरेको छ । यस्तै नगरपालिकाले खरिद गरेको राहतको मुल्य समेत नगरपालिकाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।




















