सिन्धुली । लकडाउनका अवधिमा खाद्य संकटमा परेका नागरिकहरुलाई वितरण कमलामाई नगरपालिका सिन्धुलीले वितरण गरेको खाद्यान्न राहतको प्याकेजमा गुणस्तर र नापतौलमा कुनै समस्या नभएको पाईएको छ । गुणस्तर र तौलका विषयलाई लिएर केहि वडाअध्यक्ष र नेपाली कांग्रेस सहित जिल्लाका ६ राजनीतिक दलले निकालेको विवादपछि भएको छानविनमा कुनै समस्या नभएको पाईएको हो ।

ढकालले विवाद झिकेर नगरपालिकाले उपलब्ध गराउने राहत नलिएपछि नगरपालिकाले राहत बाँड्न तीन दिने समयसिमा समेत तोकि दिएको छ । ३ दिनका लागि नगरपालिकाले दिएको समयसिमा मंगलबार (आज) सकिदै छ ।
नगरपालिकाले तयार गरेको चामलमा गुणस्तर प्राप्त चिन्ह नभएको भन्दै वडाध्यक्ष ढकालले बखेडा झिकेर नगरपालिकाले वडाको माग बमोजिम तयार गरिदिएको ७ सय ९४ परिवारको प्याकेज राहत लिएको छैन । नगरपालिकाको राहतमा गुणस्तरमाथि प्रश्न उठाईएपछि नगरपालिकाले खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीलाई खाद्यान्न राहतको गुणस्तर जाँच गर्न पठाएको थियो । खाद्यले वितरणका लागि गोदाम गरिएको खाद्यान्न गुणस्तरीय रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुली र नगरपालिकालाई प्रतिवेदन बुझाइसकेको छ । तै पनि वडा अध्यक्षले राहत नबुझेर राजनीतिक मुद्दा बनाएको नगर प्रमुख खड्ग बहादुर खत्रीले बताएका छन ।
खत्रीका अनुसार नगरपालिकाले तौलमा कमी आएको आरोप आउन सक्ने भएपछि गोदाममै खाद्यान्नको तौल लिएर राहत बाँड्न लान वडा अध्यक्ष ढकाल र वडा सचिव उद्धव थापालाई पटक पटक अनुरोध गरेको थियो । तर वडा अध्यक्ष ढकालले नगरपालिकाले खरिद गरेकै पसलबाट पाँचसय बोरा चामल लगेर बाँडेका थिए । उनले नगरपालिकाले वडाको सिफारिस अनुसार उपलब्ध गराएको राहत नलिई वडा कार्यालयको लेटरप्याडमा लेखेर राहत लगेर बाँडेका थिए । ‘त्यहि चामल त्यहि पसलबाट लाँदा गुणस्तर हुने, नगरपालिकाले खरिद गर्दा कसरी गुणस्तरहिन भयो ?’ खत्रीले प्रश्न गरेका छन । खत्रीले वडा अध्यक्ष माथि नै अविश्वास गर्ने वातावरण अध्यक्ष ढकालले बनाएको समेत बताए ।
यसैबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवदीले उक्त राहत तोकिएको मितिमा लगेर नवाँडिएमा नपुग भएका अन्य वडामा पठाईने समेत बताएका छन । मंगलबार साँझसम्म राहत नलगे अन्य वडामा राहत नपाएकाहरुलाई पठाईने उनले जनाए ।
चामल गुणस्तरहिन भनेका छैनौं : कांग्रेस सभापति बराल
नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जल बरालले कमलामाई नगरपालिका सिन्धुलीले बाँडेको राहत गुणस्तरहिन भएको आरोप नेपाली कांग्रेसले नलगाएको बताएका छन । उनले फोन सम्पर्कमा कुरा गर्दै कनपा ४ का वडाअध्यक्ष महेन्द्र प्रसाद ढकालले गुणस्तरहिन भएको भनि नबाँडेको चामल नेपाली कांग्रेसले गुणस्तरहिन नभनेको र वडाअध्यक्ष ढकालको मात्र आरोप रहेको बताए ।
यस्तै कमलामाई नगरपालिका वडा नं. १, १३ र १४ मा चामलमा तौल कम भएको विषयमा पनि कांग्रेस चुकेको छ । सोमबार कनपा १३ र १४ मा गरिएको अनुगमन र लिएको तौलमा चामल तोकिएको तौलभन्दा बढी पाईएको कांग्रेस सभापति बरालले बताए ।
सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेको नेतृत्वमा कांग्रेस सभापति बराल, कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, इलाका प्रहरी कार्यालय भिमानका प्रमुख लगाएतको टोलीले वडा कार्यालयको गोदाम शिल गरि तौल लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेको नेतृत्वमा गोदाम शिल गरि तौल लिईएको थियो । तौलमा समेत कमी नदेखिएको स्वयम् कांग्रेस सभापति बरालले नै स्वीकार गरेका छन ।
‘तौल र गुणस्तर’ दुवै समस्या सकिए : न्यौपाने
कमलामाई नगरपालिका भित्र कोरोना महामारीका कारण भएको लकडाउन अवधिमा बाँडिएका राहतको समस्या समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार नगरपालिकालाई नेपाली कांग्रेस लगाएत ६ राजनीतिक दल र केही वडा अध्यक्ष लगाएतले लगाएको आरोपमा सत्यता नभएको पाईएको हो ।
गुणस्तर र नापतौलका विषयमा आएको विवादलाई प्रशासनको नेतृत्वमा समाधान गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनका अनुसार खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले खाद्यमा गुणस्तर रहेको प्रमाणित गरि जिल्ला प्रशासन कार्यालय सिन्धुली र कमलामाई नगरपालिकालाई पत्र दिए पछि वडा नं. ४ मा रहेको गुणस्तरहिनको विवाद सकिएको छ भने सोमबार राहत बाँडिएको ठाउँ कनपा १३ र १४ मै पुगेर नापतौल गरे पछि नाप तौलको समस्या समेत समाधान भएको उनले बताए । नगरपालिकाले बाँडेको राहतमा रहेको २० केजी चामलको बोरामा ४० देखि ६० ग्राम चामल बढी भएको र खाद्यान्न खानलायक रहेको पाईएको न्यौपानेले बताए ।
तथ्यहिन आरोप नलगाउनुस : मेयर खत्री
कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले मंगलबार नगरपालिकामा पत्रकार सम्मेलन गरि नगरपालिकाले बाँडेको राहतमा कुनै अनियमितता नभएको, राहतमा तौल कमी नभएको र गुणस्तरमा कुनै कमी नभएको दावी गर्दै अनर्गल प्रचार नगर्न आग्रह गरेका छन । उनले नेपाली कांग्रेस लगाएतका दल र वडा अध्यक्षहरुले लगाएको आरोप तथ्यमा आधारित नभएको बताए ।
उनले भने, ‘नगरपालिकाले वितरण गरेको राहत प्रक्रियागत रुपमा खरिद गरिएको, गुणस्तर, तौल र मुल्य महंगो नभएको छ, जिम्मेवार राजनीतिक दलले नगरपालिकालाई तथ्यमा रहेर आरोप लगाउनुस ।’ सोमबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा अनियमितताको छानविन माग गर्न प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएका थिए । कनपा उनीहरुले कमलामाई नगरपालिकाले विपदमा अनियमितता गरेको आरोप सहित छानविनको माग गरेका थिए ।
उक्त मागपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, नेपाली कांग्रेसका सभापति उज्जल बराल, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, इलाका प्रहरी कार्यालय भिमानको टोली वडा अध्यक्षहरु सहित कमलामाई नगरपालिका वडा नं। १३ र १४ मा बाँडिएको राहत जफत गरि तौल लिईएको छ । राजनीतिक दलहरुले लगाएको आरोप जस्तै तौलमा कमी नपाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । २० केजीको चामलको बोरामा ४० देखि ६० ग्राम चामल बढी भएको र खाद्यान्न खानलायक रहेको पाईएको उक्त टोलीले जनाएको छ ।
गलत आरोप लगाएर आम नागरिकमा भ्रम फैलाउने गरि मिडियाबाजी नगर्न समेत जिल्लाका राजनीतिक दल र वडाअध्यक्षहरुलाई आग्रह समेत गरेको छ । कमलामाई नगरपालिकाको १३ र १४ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ । यस्तै गुणस्तरको विवाद आएको वडा नं। ४ मा पनि नेपाली कांग्रेसका महेन्द्र प्रसाद ढकालले जितेका छन । नगरपालिकाले रेडक्रस प्लान नेपाल र अन्य संघसंस्थाले नगरपालिकासँग समन्वय गरेर राहत बाँडेकाले अनियमितता नभएको समेत दावी गरेको छ । नेपाली कांग्रेसले उठाएको क्वारेन्टाईनको व्यवस्थापनमा पनि समस्या नरहेको दावी गरेको छ । यस्तै नगरपालिकाले खरिद गरेको राहतको मुल्य समेत नगरपालिकाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।





















