सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीमा रहेका शैलशिखर अनाथालयका बालबालिका खाद्य संकटमा परेका छन । अनाथालयका सञ्चालक विष्णु प्रसाद देवकोटाले लकडाउनको अवस्थामा कतैबाट अनाथालयलाई स्रोत पनि नजुटेको र सरकारी निकायले वेवास्ता गरेको बताएका छन ।
उनले लकडाउनमा बालबालिकालाई केहि व्यक्तिगत सहयोग आएको भए पनि सरकारी निकायले ध्यान नदिएको बताए । उनले भनेका छन, ‘कि सरकारले नै बालबालिकाको जिम्मा लेओस, नत्र सहयोग गरोस ।’
उनले इन्सेकलाई राहतका लागि पहल गरिदिन समेत अनुरोध गरेका छन । बालबालिकाको विद्यालय भर्नाको समय पनि भईसकेको र किताव, कपि कलमको समेत व्यवस्था गर्नुपर्ने समयमा बालबालिकालाई खाद्यान्नकै समस्या हुन थालेको उनले गुनासो गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि विमला पाण्डेले गरेको अनुगमनमा अनाथालयका बालबालिकाले खाद्य संकट भोग्न थालेको पाइएको छ । लकडाउनमा उनीहरुको अवस्थाको बारेमा बुझ्न गरिएको अनुगमनमा अनाथालयका बालबालिकालाई खाद्यान्न संकट पर्न थालेको पाईएको इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले बताएकी छिन ।
कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन भएको उक्त अनाथालयले १० जना बालबालिकालाई आश्रय तथा शिक्षाको व्यवस्था गरेको छ । १० वर्षदेखि सञ्चालनमा रहेको अनाथालयले सरकारले बालबालिकालाई सहयोग गर्न मन खुम्चाएको जनाएको छ । १० बालबालिका सहित सञ्चालक र व्यवस्थापक गरि उक्त अनाथालयमा १२ जना बस्दै आएका छन ।
अनाथालयका बालबालिकालाई सिन्धुलीमाढीमा रहेको भगवति आवासिय मावि माढीबजारले आधा शुल्क मिनाहा गरि पढाईमा सहयोग गर्दै आएको छ भने आधा खर्च अनाथालयले नै व्यवस्था गर्दै आएको छ । बालबालिकालाई पढाउन तथा खानपान तथा हेरचाहका लागि नियमित खर्चको अभाव भएपछि अनाथालयले कुखुरा तथा बाख्रा पालन गरेर बालबालिकाको खर्च जुटाउँदै आएको थियो भने दाताहरुको सहयोग पनि केहि जुट्दै आएको थियो ।
लकडाउनका कारण अनाथालय सञ्चालनमा समस्या रहेपछि अनाथालय रहेको वडाका वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले अनाथालयलाई राहत दिनुपर्ने भनि कमलामाई नगरपालिकामा सिफारिस गरेको भए पनि सहयोग नपाएको देवकोटाले गुनासो गरेका छन ।
यसैबीच बालबालिकालाई परेको समस्याका बारेमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीसँग इन्सेक जिल्ला प्रतिनिधि पाण्डेले सहयोगका लागि अनुरोध गरेकी छिन । नगरप्रमुख खत्रीले बालबालिकालाई सहयोग गर्ने मौखिक प्रतिवद्धता जनाएका छन । खत्रीले अनाथालयको बैधानिकताका बारेमा केहि प्रश्न उठेका कारण सहयोग नगरिएको बताउँदै बालबालिकालाई खान नपाउने अवस्था सृजना हुन भने नदिइने आश्वासन दिएको इन्सेक जिल्ला प्रतिनिधि पाण्डेले बताईन ।





















