सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. ५ अपजसेमा सम्धिले सम्धि सम्धिनीलाई खुकुरी प्रहार गरेका छन । मंगलबार दिउँसो १ बजे पारिवारीक विवाद हुदा खुकुरी प्रहार हुदा सम्धि सम्धिनी घाइते भएका हुन ।
घ्याङ्लेख गाउँपालिका वडा नं. ५ अपजसेका ४९ वर्षिय मानबहादुर वाईवाले खुकुरी प्रहार गर्दा घयाङलेख गाउँपालिका वडा नं. ५ अपजसेका ४० वर्षिय मानबहादुर लो र उनकी श्रीमति ४५ वर्षिय साईली माया लो घाइते भएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी सुनुवारले बताईन ।
घाइते दुवै जनालाई मंगलबार नै उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचार असम्भव भएपछि थप उपचारका लागि बुधबार ट्रमा सेन्टर पठाईएको उनले बताईन ।
खुकुरी प्रहार गर्ने वाईवालाई मंगलबार नै प्रहरीले पक्राउ गरिसकेको र बुधबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन । उनका अनुसार घाइते मानबहादुरको टाउकोमा गहिरो चोट लागेको छ भने साइलीमायाको गर्दनमा गहिरो चोट लागेको छ ।
छोरीलाई हेला गरेको भन्दै वाईवाले सम्धि सम्धिनीमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















