सिन्धुली । सिन्धुली अस्पतालमा ज्वरो आएर आएका एक पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको छ । कनपा १२ का ५५ वर्षिय ती पुरुषलाई १० दिनदेखि ज्वरो आउने, खोकी लाग्ने भएपछि परिवारले उनलाई बुधबार सिन्धुली अस्पतालमा उपचारका लागि ल्याएका थिए । उनमा १०४ डिग्री ज्वरो, खोकी लगाएतका लक्षण रहेकाले आइसोलेसनमा हालेर उपचार गरिएको सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीले बताए ।
उनका अनुसार ती विरामीका छोरा १४ दिन अघि दुवईबाट नेपाल आएका थिए । उनी परिवारको सम्पर्कमा आएको ४ दिनपछि उनी विरामी परेका थिए ।
उनलाई कोरोना संक्रमण हुन सक्ने आशंकामा आइसोलेसनमा राखि उपचार गरिएको र उनको स्वाव परिक्षणका लागि काठमान्डौ पठाउने तयारी भएको राजभण्डारीले बताए ।
विदेशबाट आएका युवा गाउमै रहेको र उनलाई त्यस्तो कुनै लक्षण नदेखिएको परिवारले जनाए पनि उनलाई सम्पर्क कायम गरि खोजी गरिने अस्पतालले जनाएको छ । उनी र उनका परिवारलाई सम्पर्क गर्ने कोशिस भईरहेको छ । फेला परेपछि सेफ क्वारेन्टाईनमा राखेर निगरानी गरिने छ । विरामीका श्रीमति भने अस्पतालमै छन ।



















