सिन्धुली । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पूर्व तयारी स्वरुप सिन्धुलीमा क्वारेन्टाईन र आइसोलेसन निर्माणका लागि भवनहरु हेरिएको छ । विपद व्यवस्थापन समितिका निमित्त अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्का, अस्पतालका डा. प्रसान्त राजभण्डारी, अभिशेख भण्डारी, एसपी रञ्जु सिग्देल, पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र वैदार लगाएतको टोलीले भवन निरिक्षण गरेको हो ।

यस्तै विपद व्यवस्थापन समितिको नेतृत्वमा सदरमुकाम नजिकैका विद्यालय भवनहरु पनि क्वारेन्टाईनका लागि अध्ययन गरिने भएको छ । अनुगमन निरिक्षण पछि उचित स्थानमा व्यवस्थापनका लागि विपद व्यवस्थापन समितिले निर्णय गर्ने भएको छ ।
आइसोलेसन निर्माणका लागि कनपा ६ राम्माढीमा रहेको मोडर्न एपोलो अस्पताललाई प्रयोग गरिने निश्चित भएको छ । करिब ६ महिनादेखि बन्द रहेको उक्त अस्पतालमा १६ वेड सम्मको आइसोलेसन सञ्चालन गर्न सकिने अवस्था रहेको र सामान्य तयारी गर्दा हुने देखिएकाले सो को सरसफाई समेत गरिने भएको छ ।
यस्तै १५ वेडसम्मको क्वारेन्टाईनका लागि भु तथा जलाधार व्यवस्थापन फिल्ड अफिस उपयुक्त देखिएको छ । अन्य स्थानको भने खोजी गरिने र निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताईन ।
यसैबीच कमलामाई नगरपालिकाले कर्मचारी मिलन केन्द्रको खाली भवनलाई क्वारेन्टाईन निर्माणका लागि तयारी गर्ने भएको छ । जसका लागि रङरोगन सहितको तयारी नगरपालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।



















