सिन्धुली । सिन्धुलीमाढीमा सञ्चालनमा रहेका ९० प्रतिशत मासु पसलमा खुला रुपमा मासु विक्री भएको पाईएको छ । सामान्य मापदण्ड भन्दा पनि बाहिर रहेर मासु विक्री भएको पाईएको हो । कमलामाई नगरपालिकाको आयोजनामा गरिएको मासु पसलको अनुगमनमा मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा आएको पाईएको हो ।

मासु पसलमा खुला रुपमा मासु विक्री वितरण भएको, मासुमा झिंगा भन्किएको, कुकुर, कुखुरा, विरालोको लसपस रहेको, धेरै जसो पसलमा फ्रिजको व्यवस्था समेत नभएको, फ्रिज भएका मासु पसलमा पनि धेरै दिनसम्म मासु राखिएको पाईएको हो ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, उपभोक्ता हितमा काम गर्ने संस्थाका प्रतिनिधिहरु अच्युतम ढकाल, इन्द्र भुजेल, कमलामाई नगरपालिकाका वडाध्यक्ष, नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत सागर कुमार ढकाल, पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रतिनिधि लगाएतको उपस्थितिमा अनुगमन गरिएको हो ।

सबैभन्दा बढी शनिबारे हाटबजारमा मासु पसलहरु अव्यस्थित भएको पाइएको छ भने कमलामाई नगरपालिका वडा नं. ५ नयाँ वस्तीमा पुलको मुखमा माछा बेच्ने २ पसल अत्यधिक अव्यवस्थित भएको पाईएको छ ।

अनुगमनपछि मेयर देवकोटाले सिन्धुलीमा सञ्चालित अधिकांश मासु पसलको मासु खान अयोग्य रहेको देखिएकाले कोरोना भाईरस संक्रमणको यो अवस्थामा अव्यवस्थित मासु पसल केहि समयका लागि बन्द गर्नुपर्ने अवस्था देखिएको बताईन । उनका अनुसार बाँकी रहेका ठाउँमा पनि अनुगमन गरि के गर्ने भन्ने निर्णय गरिने बताईन ।



















