सिन्धुली । कमलामाई नगरपालिकाले बजार क्षेत्रमा कडाईका साथ अनुगमन गर्ने भएको छ । शुक्रबार सिन्धुलीमाढीमा बसेको बैठकले बजारमा कृतिम अभाव सिर्जना गर्ने र बढी मुल्य लिने गरेको गुनासो बढेपछि नगरपालिकाले बजार अनुगमन गर्ने भएको हो ।
अनुगमनका लागि शनिबार १० बजे नगरस्तरीय अनुगमन समितीको बैठक समेत बोलाईएकोे नगरपालिकाका उपमेयर एवम् बजार अनुगमन समितिका संयोजक मञ्जु देवकोटाले बताईन । अनुगमनमा कृतिम अभाव र अधिक मुल्य छ वा छैन भनि हेरिने भएको छ ।
यस्तै विश्वलाई नै त्रसित बनाएको कोरोना भाईरसको संक्रमण यहाँ हुन नदिन नगरका सवै वडा तथा सार्वजनिक निकायमा सावुन पानीले हात धुने व्यवस्था मिलाउने निर्णय भएको पनि गरेको पनि उनले बताईन ।
नगरपालिकाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा नियमित बस्नका लागि पनि निर्देशन गरिएको उनले बताईन ।
यस्तै कमलामाई नगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरेको छ । २५ जना भन्दा बढीको समुह बनाई, भेला तथा कुनै पनि प्रकारको कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय समेत भएको छ ।
यसैबीच कमलामाई नगरपालिका वडा नं. ९ ले शुक्रबार हाट बजार लाग्न रोक लगाएको छ । शुक्रबार भिमानमा लाग्ने हाटबजारमा वडाध्यक्ष देवराज पौडेलले सामान राखेर बस्न नदिएका हुन । यस्तै हाटबजारमा तराईबाट ल्याईने माछा, मासु विक्री गर्न दिएको छैन । इलाका प्रहरी कार्यालय भिमान र वडा कार्यालयले भिडभाड हुने हाट बन्द गरेको हो ।



















