सिन्धुली । सुनकोशी गाउँपालिकाले कोभिड –१९ (कोरोना भाइरस) को संक्रमण हुनबाट बच्न पहिले हात धोऔं अनि सेवा लिऔं भन्ने सन्देश दिदैं सबै कार्यालयलाई सावुन र धारा जडित पानी राख्ने ट्यांकी उपलब्ध गराएको छ । गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, बैंक, सहकारीहरु लगाएतका सेवा प्रदायक निकायहरुलाई उक्त सामग्री प्रदान गरेकोे हो ।
पालिका भित्र रहेका वडा कार्यालय, बैक, सहकारी लगाएत हाल सञ्चालनमा रहेका कार्यालयहरुमा हात धुने ब्यबस्था मिलाईएको गाउँपालिका अध्यक्ष दिपा बोहोराले बताइन ।
उनले सवैलाई जनचेतना जगाउँदै साबुन पानीले हात धुन आग्रह गर्ने र सञ्चालन भएका कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा सावुन पानीले हात धुन लगाउने व्यवस्था मिलाइएको बताईन ।
यसैबीच गाउँपालिकाले कोरोना भाईरसबाट बच्ने उपायका बारेमा बताउन घर घरमा टोली पठाउने भएको छ ।
कोरोना भाईरसको अनावश्यक हल्ला र टिप्पणीले सर्वसाधारणमा मनोबैज्ञानिक त्रास सिर्जना भएको भन्दै यसबाट बच्ने उपायबारे जानकारी गराउन टोली पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले बताईन ।
उनका अनुसार सर्वसाधारणलाई सुरक्षित र संयमित हुन आग्रह गर्दै घर घरमा टोली परिचालन गर्ने भएको छ । १५ जना भन्दा बढी मानिस एकै ठाउँमा जमघट नहुन आग्रह गर्दै घर घरमा कोरोनाबाट बच्ने उपाए लेखिएको पर्चा, ब्रोसर बाँड्न टोली पठाईने उनले जानकारी दिइन ।
स्वास्थ्य संयोजक ओम प्रकाश झाका अनुसार पालिकाका सवै घरमा टोली पठाई सुरक्षित रहि सरसफाईमा ध्यान दिन आग्रह गर्ने र सन्देशमूलक पर्चा बाड्ने छन् । आवश्यकता अनुसार टोली परिचालन गरिने उनले बताए ।




















