सिन्धुली/ सहिद दिवसका अवसरमा सिन्धुलीमा तीन जना सम्मानित भएका छन । जनसेवा पुस्तकालयले सहिद दिवसका अवसरमा विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको सम्मान एवम् रचना वाचन कार्यक्रममा पुस्तकालय स्थापना गर्ने दुईजना संस्थापक र एकजना स्रष्टालाई सम्मान गरेको हो ।
जनसेवा पुस्तकालयका संस्थापकहरु कमल घिमिरे र चक्रमान श्रेष्ठलाई पुस्तकालय स्थापना गरि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको हो भने जनसेवा पुस्तकालयले प्रकाशन गर्दै आएको स्मृति साहित्यीक पत्रिका प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्रष्टा एवम् स्मृतिका कार्यकारी सम्पादक सारदा प्रसाद पहाडीलाई सम्मान गरिएको हो ।

पुस्तकालयका अध्यक्ष शेषराज दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विनोद खड्काले नेपालका विभिन्न आन्दोलनमा सहिदहरुलाई राज्यले सम्मान गर्न नसकेको बताए । उनले शहिद दिवसमा दिईने सार्वजनिक विदा र सार्वजनिक सम्मानका कार्यक्रमको समेत कटौती गरि वास्तविक सहिदको अवमुल्यन गरेको बताए । उनले सहिदको उचित परिभाषा नगरि जथाभावी सहिद घोषणा गर्दा वास्तविक सहिदको योगदान ओझेलमा परेको बताए । खड्काले देशका लागि योगदान गर्ने सहिदको योगदानलाई सम्मान गर्न राज्यले कन्जुस्याई नगर्न राज्यसँग आग्रह समेत गरेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपालमा जथाभावी सहिद घोषणा गर्दा सहिदको संख्या समेत एकीन हुन नसकेको बताउँदै साँच्चिकै सहिदको अवमुल्यन भएको बताए ।
उनले १० लाखको लोभले गोजीबाट आत्महत्या गरेकालाई समेत सहिदको दर्जा दिँदा साच्चिकै सहिदको अवमुल्यन भएको बताए । उनले सहिदका सम्मानका लागि सरकार उदासिन हुन नहुने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले विभिन्न देश परिवर्तनका आन्दोलनमा सहादत प्राप्त सहिदका बारेमा राज्य तथा राजनीतिक दलले वेवास्ता गर्न थालेको बताए । उनले राज्यले सहिद दिवसमा दिने विदा समेत कटौती गरेर थप अवमुल्यन गरेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका खड्ग बहादुर वाईवाले सहिदका सपना पुरा गर्न पत्रकार तथा साहित्यकारका कलम निश्पक्ष चल्नुपर्ने बताए ।
कार्यक्रममा सुधा देवकोटा, सम्झना श्रेष्ठ, केदार देवकोटा, सुरज कोइराला, कृष्ण गौतम, द्वारिका काफ्ले, लोकेन्द्र डहरे, सिता सत्याल, खडानन्द तिमल्सिना, हितकुमारी पौडेल, चेत प्रसाद ढकाल लगाएतले साहित्य सिर्जना वाचन गरेका थिए ।





















