सिन्धुली । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीले सदरमुकाममा आठ लाख लिटर खानेपानी थप्ने भएको छ । उक्त पानी थपिएपछि जिल्लामा थप तीन हजार घरधुरीलाई खानेपानी दिन सकिने संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।
बाग्मति प्रदेश सरकारको २१ करोड लगानीमा संस्थाले ६ वटा पानीका रिजर्व ट्यांकी र दुई वटा लिफ्ट योजना निर्माण हुने भएपछि उक्त पानी थप हुने भएको हो । जसका लागि निर्माणको काम सुरु भईसकेको छ । संस्थाको १५ प्रतिशत लगानी रहने उक्त योजना अनुसार कमलामाई नगरपालिका वडा नं. ७ गडौलीको चुहारदहमा २ लाख लिटरको पानीट्यांकी निर्माण भई सकेको छ भने दुई कोठे पालेघर निर्माण गरिसकेको छ । 
यस्तै कमलामाई नगरपालिका वडा नं. ६ को हुसेपाखामा १ लाख लिटर पानीको ट्यांकी निर्माण हुने छ । उक्त स्थानमा फिल्टर ट्यांकी समेत निर्माण गरि अँधेरी, रातामाटा प्लानिङ, राम्माढी क्षेत्रमा पानी वितरण गरिने छ ।
यस्तै कमलामाई नगरपालिका वडा नं. ४ को कार्तिके डाँडामा एकलाख लिटर पानी संकलन हुने पानी ट्यांकीको निर्माण भईरहेको छ ।
संस्थाले कमलामाई नगरपालिका वडा नं. ५ मिलनचोक लब्दाहा खोलाबाट पानी लिफ्ट गरि भूमिडाँडामा तान्ने र १ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण गरि पानी वितरण गरिने भएको छ । उक्त लिफ्टबाट पनि प्रतिसेकेन्ड २० लिटर पानी तानिने छ । उक्त स्थानबाट कमलामाई नगरपालिका वडा नं. ५ को बोझे, गैंयाटार, चिसापानी झोरा, साङ्वाले, धुराफाँट र वडा नं. ४ को ढकालगाउँ, सातपत्रे, साङ्वाले लगाएतका स्थानमा पानी वितरण गरिने छ ।
कमलामाई नगरपालिकाको सदरमुकाम क्षेत्रका वडाहरु ४, ५, ६ र ७ मा खानेपानी वितरण गर्दै आएको संस्थाले यो योजनाबाट दोब्बर पानीको आपूर्ति गर्न सक्ने अनुमान गरेको अध्यक्ष श्रेष्ठले बताए । खानेपानीको उक्त एकीकृत योजना ३ वर्षमा सम्पन्न हुने श्रेष्ठले बताए ।
हाल प्रति महिना १० लाख आम्दानी गरिरहेको उक्त संस्थाले योजना पुरा भएपछि मासिक २० लाख आम्दानी गर्न सक्ने संस्थाको अनुमान समेत रहेको छ । संस्थाले हाल ३५ सयभन्दा बढी धाराहरुबाट दैनिक २५ हजार जनसंख्यालाई पानी आपूर्ति गरेको छ । योजना पुरा भएपछि कम्तिमा ३ हजार धाराहरु थपिने र पानीको आपूर्तिमा सहज हुने श्रेष्ठले बताए ।




















