सिन्धुली । खुला चौर केहि कृतिम घरहरु, केहि रुखहरु, हुन्छन, त्यसको पूर्वतिर विपद उद्धारका सामग्रीहरु, जिल्ला विपद अप्रेशन केन्द्र तथा राहत वितरण केन्द्र राखिएको हुन्छ । चौरमा बनेका ती घरहरु नजिकै, रुखका नजिक केहि मानिसहरु काममा व्यस्त हुन्छन, कोहि तीनैै चौरका घरभित्र बसिरहेका हुन्छन, बालबालिकाहरु चौरमा खेलिरहेका हुन्छन । त्यतिकैमा घरहरु हल्लिन थाल्छन । रुख ढल्छ, मान्छे पुरिन्छ । घरहरु भत्किन्छन, मान्छेहरु लड्छन । मान्छेहरु लडेका पुरिएका स्थानबाट चित्कारपूर्ण आवाजहरु आईरहन्छ, बचाउ बचाउ …..ऐया मरें यस्तै ।
त्यहि ठाउँबाट एकजना व्यक्ति आत्तिदै जिल्ला विपद अप्रेशन केन्द्रमा फोन गर्छन र घटनाको जानकारी गराउँदै उद्धारका लागि अनुरोध गर्छन । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको गाडी आउँछन । सँगै एम्बुलेन्स आउँछ । रेडक्रसको उद्धार टोली आउँछ । घटनास्थल सिल गरिन्छ र उद्धार थालिन्छ ।
लडिरहेका मानिसलाई स्टेचरमा बोकिन्छ, सुरक्षित स्थानमा लगिन्छ । प्राथमिक उपचार गरिन्छ र एम्बुलेन्स तथा हेलिकप्टरबाट अस्पताल पठाइन्छ । यो दृष्य कुनै रियल घटनाको जस्तो देखिए पनि जिल्ला विपद व्यवस्थापन समिति, कमलामाई नगरपालिका सिन्धुलीले विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको २२ औं भुकम्प सुरक्षा दिवसका अवसरमा खुलामञ्चमा प्रदर्शन गरेको कृतिम अभ्यासको झलक हो ।
भुकम्प र भुकम्पपछिको अवस्था, उद्धार, उपचार र राहतको अवस्था बुझाउन र जिल्लास्तरका संयन्त्रले कसरी काम गर्छन भन्ने बुझाउनका लागि गरिएको अभ्यासमा यस्तो दृष्य देखाईएको हो ।

उक्त सिमुलेसन अभ्यासमा नेपाली सेनाको वर्द बहादुर गण, नेपाल रेडक्रस सोसाईटी सिन्धुली, एनसिसी, नेपाल प्रहरी, शसस्त्र प्रहरीले भूमिका निभाएका थिए । उक्त प्रदर्शनमा सवारी साधानहरुको समेत प्रयोग गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै बाग्मति प्रदेशसभाका सदस्य विनोद खड्काले यस्ता अभ्यासहरु गाउँगाउँसम्म पु¥याउन आवश्यक रहेको बताए । उनले २०७२ सालको भुकम्पपछिको पुनःनिर्माण सोंचेजति प्रभावकारी बन्न नसकेको बताउँदै भुकम्प प्रतिरोधि संरचना बनाउन नागरिकलाई सचेतना आवश्यक रहेको बताए ।





















