सिन्धुली/प्लान नेपालको सहयोगमा ओरेक नेपालले सञ्चालन गरेको कार्यक्रमको शुक्रबार अनुगमन तथा मुल्यांकन गरिएको छ । बालिका पैरवी सञ्जाल कार्यक्रम मार्फत कमलामाई नगरपालिकाको ११ नं. वडामा सञ्चालित किशोरी समूहले गरेका हानिकारक परम्परागत अभ्यास अन्तर्गत व्यवहार परिवर्तनका कामको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा कमलामाई नगरपालिकाको ११ नं. वडामा क्रियाशिल दिपशिखा किशोरी समूहका किशोरीहरुसँग छलफल गरिएको छ । छलफलका क्रममा किशोरीहरुले १ वर्षमा गरेका कामहरु जानकारी गराएका थिए ।
समूहका अध्यक्ष लिला कार्कीको अध्यक्षता एवम् कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूहका सदस्य पूजा थिङले समूहका गतिविधि तथा अपेक्षाहरु प्रस्तुत गरेकी थिइन ।
उनले प्रतिवेदनमा महिनावारीमा गरिने छुवाछुतमा कमी आएको, घरेलु तथा अन्य लैंगिक हिंसामा परेकाहरुलाई सहजीकरण गरिएको, मदिराजन्य विक्री वितरण र प्रयोगबाट आउने समस्याबारे जनचेतना जगाईएको, समान कामका लागि समान ज्यालाका लागि सहजीकरण गरिएको, बालविवाह विरुद्ध सचेतना जगाईएको र ६ वटा बालविवाह रोकिएको लगाएतका विषयमा जानकारी गराएकी थिइन ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले महिला हिंसा गराउने कारणमा सामाजिक सञ्जाल र मदिरा भएको भन्दै सचेतना जगाउन आवश्यक रहेको बताईन । उनले किशोरीहरुलाई प्रभावकारी अभियानहरु सञ्चालन गर्न आग्रह गर्दै समूहको दिगोपनाका लागि स्थानीय सरकारले सहयोग गर्ने बताईन ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका वडा नं. ११ का अध्यग राम बहादुर थिङले हिंसा पीडित महिलाहरुलाई एकद्धार संकट व्यवस्थापन केन्द्रमा पठाउन सहजीकरण गर्न किशोरी समूहलाई आग्रह गरेका छन । उनले वडाको योजना छनौट प्रक्रियामा आफ्ना योजना र कार्यक्रम ल्याउन आग्रह गर्दै सहकार्यका लागि वडा कार्यालय तयार रहेको बताए ।
प्लान नेपालका कमला लामाले किशोरीको दिगो विकास र स्थायीत्वका लागि नगरपालिकाले स्वामित्व लिनुपर्ने बताईन । कार्यक्रममा सहभागिहरुले समूहको कामको दिगोपना र अभियानलाई दिर्घकालिन बनाउन सहकार्यको आवश्यकता रहेको बताएका छन । कार्यक्रमको सहजीकरण ओरेकका अनिता पहाडीले गरेकी थिइन ।




















