सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढी भएर बग्ने ग्वाङखोला (गौमति नदी) अतिक्रमणमा परेको छ । बजार क्षेत्रको नजिक रहेको उक्त नदीको आसपासमा खोला नै अतिक्रमण हुने गरि तारबार तथा वाल निर्माण हुन थालेपछि र उत्खननको काम हुन थालेपछि खोलासँगै आसपासका बस्ती समेत संकटमा पर्न सक्ने खतरा बढेको छ ।
खोला बगेको भुभाग नै व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण हुदै तारबार हुन थालेपछि खोला बग्ने बाटो नै थुनिने अवस्थामा पुगेको छ ।
यस्तै सरकारी निकाय, स्थानीय निकायले खोलाको भागमै तारजाली लगाउने, इनारहरु बनाउने काम गर्न थालेका कारण पनि नदीको बहाव क्षेत्र नै संकटमा परेको छ । कमलामाई नगरपालिकाको क्षेत्रमा पर्ने यो खोलामा फोहर पनि उत्तिकै छ । फोहर व्यवस्थापन उचित रुपमा हुन नसक्दा खोला फोहर हुनुका साथै अतिक्रमणका कारण पानीको वहाव समेत घट्दै गएको छ ।

कनपाको वडा नं. ६ र ५ को बीचमा बगेको उक्त नदीको भाग साँघुरिदै गएको छ ।
कमलामाई नगरपालिकाले केहि समय अघि नदीको अतिक्रमणको अवस्थाको स्थलगत अवलोकन समेत गरेको थियो । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले खोलाको भूभागलाई नगरपालिकाले संरक्षण गर्ने योजना बनाएको र सोहि अनुसार अवलोकन भएको समेत बताएका थिए तर अतिक्रमण भने रोकिएको छैन ।
यस्तै नगरपालिकाका प्रशासकीय प्रमुख पुरुषोत्तम सुवेदीले खोलाको कति भूभाग अतिक्रमण भएको छ त्यसको लगत समेत नगरपालिकामा नभएकाले त्यसको एकीन सहित अतिक्रमित भूभाग फिर्ता गरि संरक्षण गरिने योजनामा नगरपालिका रहेको बताए ।
उनले नगरपालिकाले सिन्धुलीमाढी बजार, धुराबजार, नयाँ वस्ती, मधुटार लगाएतका घना बस्तीलाई व्यवस्थित गर्दै अतिक्रमित भूभाग संरक्षण नगरे खोला बग्ने बाटो समेत नभई वर्षाको समयमा ठूलो क्षति हुन सक्ने भएकाले अतिक्रमण रोक्न सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताए । सुवेदीका अनुसार खोला बग्ने स्थान समेत नभएकाले नगरपालिकाले डोजर लगाएर खोला बग्ने बाटो तय गर्न थालेको समेत जानकारी दिए ।




















