सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले तलदेखि माथिसम्म आर्थिक अराजकता, राजनीतिक अराजकता र चिन्तनको अराजकता फैलाएको बताए ।
बुधबार सिन्धुलीमाढीमा नेपाल प्रेस युनियन सिन्धुलीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेता पौडेलले वर्तमान सरकार चिन्तन अहंकार र उन्मादले ग्रस्त भएको र नेतृत्वमा असन्तुलन पैदा भएको बताए । सरकारको उन्मादले संविधानको मर्ममाथि नै प्रहार गरेको उनको आरोप छ ।
नीति तथा कार्यक्रम अलोकतान्त्रिक अभ्यासबाट पास भएको भन्दै उनले कम्युनिष्टहरुले देशलाई अन्यौलता तिर लान खोजेको आरोप लगाए । उनले सरकाले अरुको कुरा सुन्ने र कम्परमाईज गर्ने संस्कार नै नजानेकाले समस्या भएको बताए ।
संविधान कार्यान्वयनमा ध्यान दिन पूर्व अर्थमन्त्री महतको आग्रह
उक्त पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री एवम् कांग्रेस नेता रामशरण महतले सरकारले मंगलबार पारित गरेको नीति तथा कार्यक्रममा सरकारको कार्ययोजना भन्दा पनि प्रचार मात्र देखिएको आरोप लगाएका छन । उनले सरकारले संविधानको कार्यान्वयन गर्नका लागि संस्थागत क्षमता विकास र अधुरा कामहरुलाई पुरा गर्नेतर्फ ध्यान नदिएको र आश्वासन मात्र बाँडेको बताए ।
उनले नेपालमा संविधान निर्माण पछि कार्यान्वयनको संक्रमण रहेको बताउँदै संविधानको कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरे । केन्द्रीकृत पुरानो मानसिकता बोकेर लोकतन्त्र र संविधानको कार्यान्वयनमा समस्या हुने भन्दै उनले सरकारको काम गर्ने शैली फेरिनुपर्नेमा जोड दिए ।
उनले यसपटकको नीति तथा कार्यक्रमले सरकारको चरित्रलाई प्रस्ट पारेको बताउँदै सपनामात्र नबेचि काम गर्न सरकारलाई अनुरोध समेत गरे । कार्यक्रममा बोल्दै उनले सरकारले अनुत्पादक क्षेत्र, सुखसयलमा खर्च गरेको तर विकासमा ध्यान नदिएको बताउँदै यसले देशलाई दुर्भाग्यतिर लगेको बताए ।




















